
काठमाडौँ — ३२ श्रावण २०७८
काठमाडौँ, अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्याइएको भन्नेबारे खुलेको छैन ।
उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको गुरुङले बताए । ‘नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ,’ गुरुङले भने ।
यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन् । ’
