
दार्चुला — २९ श्रावण २०७८
दार्चुला, दार्चुलाको विकट व्यासका बासिन्दालाई आफ्नै भूमि हुँदै सदरमुकाम आउजाउ गर्न समस्या भइरहेका बेला लुकीछिपी तुइनमार्फत महाकाली तरेर भारतीय बाटो प्रयोग गर्ने विकल्प पनि बन्द भएको छ । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइन फुस्काइदिँदा व्यासका युवक जयसिंह धामी बेपत्ता भएको घटनापछि भारतले महाकाली नदी पार गर्ने त्यस क्षेत्रका सबै तुइन बन्द गरेको हो ।तुइन बन्द गरिएपछि नेपालतिरको घुमाउरो र बाढीपहिरोले क्षतिग्रस्त बाटो प्रयोग गर्नुपरेको व्यास–२ राप्लाका राकेश बुढाथोकीले बताए । नेपालतर्फको पैदल बाटो तोसरपानीदेखि सदरमुकाम पुगुन्जेलसम्म बाढीपहिरोले भत्काएको छ,’ उनले भने, ‘रित्तै जान पनि मुस्किल पर्छ । भारी बोकेर हिँड्न असम्भवजस्तै छ ।
व्यासका २, ३ र ४ वडाका स्थानीयलाई नुन–तेल, चिनी, लत्ताकपडादेखि दैनिक उपभोग्य खाद्य सामग्रीका लागि महाकाली तरेर भारतीय बजार जानैपर्ने बाध्यता छ । तुइनको प्रयोग गरेर एकै दिनमा सहजै बजार गएर घर फर्कन सकिने हुँदा यहाँका स्थानीय लामो समयका लागि खाद्यान्न जोहो गर्दैनन् । यहाँका स्थानीय खाद्यान्न किन्न भारतीय सीमा बजार पाङ्गा, गस्कु र धारचुलासम्म जान्छन् । तुइनहरू बन्द हुँदा खाद्यान्न ल्याउनलाई समस्या भएको कार्कीले बताए ।व्यास जोड्ने मुख्य मार्ग दार्चुला–टिंकर सडक सुन्सेरासम्म ट्र्याक खोलिएको छ । अहिले वर्षातको समयमा सडकको ट्र्याक खोलिए पनि यातायातका साधन बन्द छन् । दार्चुला–टिंकर सडक पनि अलपत्र छ । १२ वर्षअघि शिलान्यास भएको सडकको ४० किलोमिटर ट्र्याक पनि पूरा हुन सकेको छैन । महाकाली नदीमाथि झोलुंगे पुल शिलान्यास भएको ३ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन ।
(कान्तिपुर दैनिक)
