
खोटाङ — २९ श्रावण २०७८
खोटाङ , गाईघाटदेखि दिक्तेल जोड्ने सगरमाथा लोकमार्ग निर्माण सुरु भएको २७ वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन । २०५१ सालमा सुरु उक्त लोकमार्ग निर्माण कम्पनीको लापरबाहीका कारण लामो समय बित्दा पनि सम्पन्न हुन नसकेको हो ।खोटाङ खण्डको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे फोक्सिङटारदेखि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीसम्मको २६ किलोमिटर सडकको काम देवनारायण पवन मैनाचुली जेभीले ठेक्का लिएको हो । २०७७ साउन १० भित्र सक्ने गरी २०७३ साउन ११ गते सम्झौता गरेको थियो । करिब ५५ करोड ८३ लाख रुपैयाँको लागतमा सम्पन्न गर्ने गरी सम्झौता गरिए पनि मूल्यांकन लागत बढेर ६४ करोड ५६ लाख रुपैयाँ पुगेको गाईघाट–दिक्तेल सडक योजना प्रमुख गोपाल खकुरेलले बताए ।
उक्त सडक खण्डमा रिटेनिङवाल, कल्भर्ड, नाली, पाइप राख्ने र कतिपय ठाउँमा सबबेसको काम मात्र गरिएको छ । खोटाङ क्षेत्रमा कालोपत्रको काम भने कहीँ पनि हुन नसकेको प्रमुख खकुरेलले बताए । उनका अनुसार भौतिक प्रगति भने ६० प्रतिशत र वित्तीय प्रगति भने ५८ प्रतिशत देखिन्छ । त्यस्तै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीदेखि दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१३ नुनथला माहुरेसम्मको २३ किलोमिटर सडक खण्डको निर्माण काम पनि सुस्त गतिमा छ ।
करिब ४६ करोड ८७ लाख रुपैयाँको लागतमा २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने गरी २०७३ असार २० गते भारतीय कन्स्ट्रक्सन, सिद्धिसाई जेभीले सम्झौता गरेको थियो । सडक खण्डको काम (भौतिक र वित्तीय प्रगति) भने ३५ प्रतिशत मात्र भएको प्रमुख खकुरेलले बताए । उनका अनुसार यो सडक खण्डको लागत मूल्यांकन बढेर ५३ करोड ८६ लाख पुगेको छ । सिम्पानी–महुरे सडक खण्डमा काम गर्ने कामदारले पारिश्रमिकसमेत नपाएको दिक्तेल, रूपाकोट, मझुवागढी नगरपालिका–१४ बुइपाका वडा अध्यक्ष दिनेश राईले बताए । उक्त सडक खण्डको काम गुणस्तरहीन र कामदारलाई पारिश्रमिक नदिएको भन्दै स्थानीयले पटक–पटक बन्द गराउँदै आएको अध्यक्ष राईले बताए । पेटी ठेकेदारलाई काम दिएको र उनीहरूले कामदारलाई पारिश्रमिक नदिनुका साथै स्थानीय होटल तथा व्यापारीहरूलाई विभिन्न सामग्रीको रकमसमेत नदिएको अध्यक्ष राईको भनाइ छ ।
निर्माण कम्पनी सम्बद्धहरूले भने अब छिट्टै काम सक्ने बताएका छन् । फोक्सिङटार–सिम्पानी सडक खण्डको काम जिम्मा लिएको देवनारायण पवन मैनाचुली जेभीसम्बद्ध मदन अधिकारीका अनुसार चैत मसान्तभित्रमा काम सक्ने बताएका छन् । ‘भदौ १५ बाट काम सुरु गरेर चैत मसान्तभित्र सक्छौं,’ अधिकारीले भने, ‘अर्को बर्खामा यातायातमा समस्या हुँदैन ।’ सिम्पानी–महुरे सडक खण्डमा निर्माण कम्पनीले काम ढिलो गरेपछि कारबाहीस्वरूप मोबिलाइजेसन रकम लिइएको खकुरेलले बताए । उनका अनुसार उक्त सडक खण्डका निर्माण कम्पनीको मोबिलाइजेसनबापतको ६ करोड ३५ लाख रुपैयाँ लिइएको छ । फोक्सिङटार–सिम्पानी सडक खण्डको निर्माण कम्पनीको समेत विचाराधीन अवस्थामा रहेको उनले जनाए । यत्ति गर्दा पनि नभए ठेक्का तोड्नुको विकल्न नहुने खकुरेलले सुनाए ।
(कान्तिपुर दैनिक)
