
पर्सा — २९ श्रावण २०७८
पर्सा, वीरगन्ज नाका हुँदै भारततर्फ भैंसीको प्रशोधित छाला निकासी झन्डै २० गुणाले घटेको छ । पशु क्वारेन्टाइन कार्यालय वीरगन्जको तथ्यांकअनुसार गत आर्थिक वर्षमा यो नाका भएर भारततर्फ ४ हजार ९ सय ९० वर्गमिटर भैंसीको प्रशोधित छाला निकासी भएको छ । अघिल्लो आवमा यो आँकडा १ लाख १० हजार वर्गमिटर थियो । वीरगन्ज छाला निकासी हुने मुलुककै मुख्य नाका हो ।यस्तो छाला निकासी गर्न पशु क्वारेन्टाइन कार्यालयको अनुमति आवश्यक हुन्छ ।
कार्यालय प्रमुख डा. हरेराम यादव एक आवकै अन्तरमा छालाको निकासी अत्यधिक घट्नुको कारण भारतमा माग नै कम हुनु रहेको बताउँछन् । उनले भने, ‘छाला निकासी गर्ने उद्योगीहरूले नेपाली भैंसीको छालाको माग नै आउन छाडेकाले उद्योग नै समस्यामा रहेको बताउने गरेका छन् ।’ उनका अनुसार पर्सा, बारा औद्योगिक करिडोरमा नारायणी लेदर, ग्लोबल लेदर, नेपाल लेदर, नेसनल लेदरलगायत आधा दर्जन छाला उद्योग छन् । यी उद्योगले विगतमा ठूलो परिमाणमा छाला भारत निर्यात गर्थे । अचेल माग घट्दा फाटफुट मात्र निकासी गरिरहेका छन् ।
