
मुगु — २८ श्रावण २०७८
मुगु , जिल्लाका ग्रामीण सडकमा यात्रा गर्ने यात्रुहरू छोटो दुरीमा पनि महँगो भाडा तिर्न बाध्य छन् । गमगढीदेखि रारा विमानस्थलसम्मको दुरी ९ किलोमिटर हो । तर उक्त सडकमा चल्ने जिपले यात्रुबाट ५ सय रुपैयाँ भाडा असुलिरहेका छन् ।त्यस्तै गमगढीदेखि तारापानीसम्मको २१ किलोमिटर सडकमा पनि प्रतिव्यक्ति ५ सय रुपैयाँ भाडा लिने गरिएको छ । ‘छोटो र लामो दुरीका दुईवटै सडकमा एउटै भाडा छ,’ स्थानीय कर्ण रावलले भने, ‘स्थानीय प्रशासनले ध्यान नदिँदा व्यवसायीको मनपरी चलेको हो ।’ उनले महँगो भाडाले रारा घुम्न आएका पर्यटक पनि मर्कामा परेको बताए ।
गमगढीदेखि सोरुकोटसम्मको ४१ किलोमिटर सडकमा भने व्यवसायले १ हजार रुपैयाँ भाडा लिने गरेका छन् । गमगढीदेखि सोरुकोटसम्म जिप रिजर्भ गर्दा ७ हजार रुपैयाँ भाडा लिने गरिएको सोरुकोटका कमल शाहीले बताए । उनका अनुसार भाडा महँगो हुँदा भीई, नार्थपु, फोतु, जिमा, सोरुकोट, पुरुमुरुलगायत गाउँका विपन्न यात्रुलाई मर्का परेको छ । ‘चर्को भाडाले सोरुकोटबाट सदरमुकाम आउन गाह्रो भयो,’ उनले भने, ‘व्यवसायीले गाडीपिच्छे फरकफरक भाडा लिने गरेका छन् ।’ उनले गमगढीदेखि छाइलसम्मको १८ किलोमिटर सडकमा ५ सय रुपैयाँ भाडा लिने गरिएको बताए ।
गमगढीदेखि बालै हुँदै पिनासम्मको ७ किलोमिटर सडकमा चल्ने जिपले ५ सय रुपैयाँ भाडा लिने गरेको सोरु गाउँपालिका–६ का पदम शाहीले बताए । तर व्यवसायीले भने सडक जोखिमपूर्ण र कच्ची हुँदा महँगो भाडा लिने गरिएको बताएका छन् । ‘अधिकांश सडक जोखिमपूर्ण अवस्थाका छन्,’ यातायात व्यवसायी तेजबहादुर लावडले भने, ‘हिलाम्मे र धुलाम्मे सडकमा गाडी चलाउँदा गाडी नबिग्रिएको दिनै हुँदैन ।’ उनले ग्रामीण सडकमा गाडी चलाउन जोखिम मोल्नुपर्ने भएकाले बढी भाडा लिने गरिएको बताए । जिल्लाका ग्रामीण क्षेत्रमा साना–ठूला गरी दैनिक ४१ वटा सवारी साधन चल्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
बढी भाडा लिने व्यवसायीलाई कारवाही गरिरहेको कार्यालयका प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले बताए । उनका अनुसार जिल्लाका कुनै पनि सडकमा गाडी चलाउन व्यवसायीले रुट प्रमिट लिएका छैनन् । ‘हामीले नियमन गरिरहेका छौं, तर हाम्रो प्रयासले यातायात क्षेत्र व्यवस्थित बनाउन सकिएको छैन,’ उनले भने, ‘स्थानीय प्रशासनले भाडा नतोक्दा पनि समस्या भएको छ ।’मुगुमा रारा–छायानाथ, बुलबुले यातायात र काञ्जिरोवा यातायात प्रालिले यातायातका साधन सञ्चालन गरिरहेका छन् । व्यवसायीसँग छलफल गरी जिल्लाका सबै सडकमा भाडा कायम गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर सिवाकोटीले बताए ।
एक दशकदेखि सडक अलपत्र
मुगुमकार्मारोङ गाउँपालिकास्थित पुवाका ४१ वर्षीय जिक्मेद तामाङको गाडी चढेर तिब्बत जाने सपना अधुरै छ । सडक सुविधा नहुँदा उनले ७ वर्षदेखि तिब्बतबाटै पिठ्युमा बोकेर सामान ओसारिरहेका छन् । डोल्फूका फोञ्जुक तामाङले पनि सडक नहुँदा वर्षौदेखि सास्ती भौग्दै आएका छन् ।तिब्बत जोड्ने गमगढी–नाक्चेनाङला सडक लामो समयदेखि अलपत्र हुँदा उनीहरू निरास बनेका हुन् । २०६७ सालदेखि निर्माण सुरु गरिएको सडकको १८ किलोमिटर मात्र ट्रयाक खोलिएको छ । सडक ८५ किलोमिटर लम्बाइको हो । तर अझै ६८ किलोमिटर सडक खन्न बाँकी भएपछि स्थानीयबासी निरास भएका हुन् । ‘सडक नहुँदा करोडौंको जडिबुटी र कृषि उत्पादन वर्सेनि कुहिएर जाने गरेको छ,’ जिग्मेतले भने, ‘खाद्यान्न र दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती भोग्दै आइरहेका छौं ।’
निर्माण सुरु भएको लामो समय बित्दासमेत सडक निर्माण पुरा नहुँदा विभिन्न सास्ती भोग्दै आएको फोञ्जुकले बताए । उनका अनुसार अहिले छाइलगाउँसम्म मात्र सडक खनिएको छ । ‘एक त वर्षैसाल कम बजेट आउँछ,’ उनले भने, ‘त्यसमा पनि ठेकेदारले आर्थिक वर्षको अन्तिम समयमा मात्र काम सुरु गर्छन ।’ उनले बर्षेनि ढिलो गरी सडक निर्माण हुँदा गुणस्तरीय काम हुन नसकेको दाबी गरे ।सडकका लागि ८० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सडक निर्माणका लागि अहिलेसम्म १२ करोड रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पर्याप्त बजेट नआउँदा सडक निर्माणमा समस्या भएको डिभिजन कार्यालयका इन्जिनियर लीला भण्डारीले बताए । ‘सरकारले बर्षेनि ठेक्का खोल्दै आएको छ, तर घटिघटाउ आधारमा ठेक्का स्वीकृत हुँदा गुणस्तरीय काम हुन सकेको छैन,’ उनले भने, ‘निर्माणको काम पनि असार मसान्तको बेला मात्र सुरु हुँदा झण्डै आधा रकम बर्षेनि फ्रिज गइरहेको छ ।’ उनका अनुसार चालु आर्थिक वर्षमा नाक्चेनाङला सडकमा सरकारले एक रुपैयाँ पनि विनियोजन गरेको छैन । सडक निर्माणका लागि सरकारले ५ वर्षअघि गमगढी–नाक्चेनाङला सडक निर्माण परियोजना स्वीकृत गरे पनि अझैसम्म पनि कार्यालय स्थापना हुन सकेको छैन ।
नेपालका उत्तरी चिनियाँ नाकामध्ये यो सबैभन्दा छोटो दुरीको सडक भएको नागरिक अगुवा रुपबहादुर मल्लले बताए । ‘मुगु कर्णाली नदीको तिरैतिर भएर तिब्बत सीमा क्षेत्र पुगिने भएकाले सडक निर्माण गर्न समस्या पनि छैन,’ उनले भने, ‘यो सडक निर्माण भए कर्णाली नदीमा दुई वटा मात्र पुल बनाए पुग्छ ।’ मल्लले नेपाली सेनालाई निर्माणको जिम्मा दिए कामले तीव्रता पाउने बताए । ‘ठेकेदारले कम मुल्यमा टेन्डर हाल्छ, त्यही स्वीकृत हुन्छ,’ उनले भने, ‘त्यही रकम पनि कमिसनको रुपमा बाँडफाँ हुँदा कसरी हुन्छ गुणस्तरीय काम ?’ उनले यो सडक खुल्न सके नेपाल र तिब्बतका पर्यटकीय गन्तव्यलाई एकसाथ जोड्न सकिने बताए । उनका अनुसार सडक निर्माण सम्पन्न भए मुगुको समग्र विकासको ढोका खुल्नेछ ।
जिल्लाको प्रमुख तीर्थस्थल छायाँनाथसहित तिहार बगर, कोइजी मरक्का हिमाल, माथिल्लो मुगुको रमणीय क्षेत्र यही सडकखण्ड आसपास पर्ने स्थानीयको भनाइ छ । सडक खुल्न सके छायाँनाथ तीर्थस्थलमा हजारौं भारतीय पर्यटक भित्र्याउन सकिने मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताए । ‘तिब्बत जोड्ने सडकले डोल्फूको ताखाखानी उत्खननमा समेत सहयोग पुर्याउने देखिन्छ,’ उनले भने, ‘यार्सा पाइने मुगमकार्मारोङका विभिन्न पाटनलाई पर्यटकीय गन्तव्यमा जोड्न पनि सडक निर्माण आवश्यक छ ।’यसैबीच बिहीबार गाउँपालिका अध्यक्ष लामासहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सडक निर्माणको काम अघि बढाउन माग गरेको छ । ‘हाम्रो मागलाई प्रधानमन्त्रीले सहज रुपमा लिनु भएको छ,’ उनले भने, ‘अब नाका खुल्ने र सडक निर्माणको काम सुरु हुने अपेक्षा छ ।’
(कान्तिपुर दैनिक)
