Fast Nepal News

किसानलाई पेन्सन

banner single news

नेपालगन्ज — २८ श्रावण २०७८

नेपालगन्ज ‍, नरैनापुर गाउँपालिकाले ‘कृषक पेन्सन’ कार्यक्रम सुरु गरेको छ । किसानलाई प्रोत्साहित गर्दै कृषि क्षेत्रमा आत्मनिर्भर बन्न चालु आर्थिक वर्षदेखि यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत मासिक ५ सय रुपैयाँका दरले ‘कृषक पेन्सन’ को व्यवस्था गरिएको छ ।व्यावसायिक खेती गरिरहेका कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा पेन्सन दिइने गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । कार्यक्रममा १ हजार किसान समेटिने छन् । ‘यहाँ अहिले पनि परम्परागत रूपमा खेती हुँदै आएको छ । कृषि प्रविधिको विकाससँग किसानलाई पनि जोड्न खोजेका हौं,’ भण्डारीले भने । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नै कृषक पेन्सन कार्यक्रम समावेश गरिएको हो ।

नरैनापुरका अधिकांश किसानले धान, गहुँ, तोरी, दलहनजन्यमा चना, रहर र मसुरोको परम्परागत प्रणालीबाट खेती गर्दै आएका छन् । गाउँपालिकाले ‘एक वडा एक बाली’ कार्यक्रमअन्तर्गत ६ वडालाई स्मार्ट कृषि वडा बनाउने योजनासमेत अगाडि सारेको छ । यस्तै आगामी आर्थिक वर्षमा नरैनापुर गाउँपालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजना रहेको भण्डारीले बताए । सिँचाइको प्रबन्धका लागि डिप बोरिङको समेत व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । यस्तै १० जातका फलफूलका बिरुवा हुर्काउने किसानलाई प्रोत्साहन भत्ता दिइने योजना पनि छ ।

Inside Article Ads

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि क्षेत्रको विकासमा १ करोड २३ लाख रुपैयाँ विनियोजन गरेको छ । कृषि परिश्रमले नरैनापुर धानिएको नैरनापर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्माले बताए । ‘त्यसैले बाख्रापालन, खेती किसानी र व्यावसायिक तरकारी खेती गर्ने किसानलाई अनुदान लक्षित योजना ल्याएका छौं,’ उनले भने, ‘कृषिलाई व्यवसायीकरण गर्न नयाँ आर्थिक वर्षमा पालिकाले किसान लक्षित योजना बनाएको हो ।’नरैनापुरका अधिकांश बाटो ग्राभेल र कालोपत्र गरिएका छन् । कृषि पेसामा रमाएका कृषकलाई बाटो बनेपछि बजारीकरण गर्न सुविधा भएको छ । नरैनापुर–१ का बनिया महातनियाले कृषक पेन्सन कार्यक्रमबारे जानकारी पाउँदा खुसी लागेको बताए । ‘यसले हामीजस्ता किसानलाई राहत पुग्नेछ,’ उनले भने, ‘योजना त राम्रै छ । यो कसरी कार्यान्वयन हुन्छ, त्यो भने हेर्न बाँकी छ ।’

(कान्तिपुर दैनिक)
Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.