
बुटवल — २८ श्रावण २०७८
बुटवल, लुम्बिनी प्रदेशमा बिहीबार माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी अगाडि बढेको छ ।केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जना सांसदहरुले हस्ताक्षारसहितको दाबी प्रदेश प्रमुख अमिक शेरचनलाई प्रस्तुत गरेका छन् । सरकार गठनका लागि प्रदेश प्रमुख शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मका लागि समय दिएका छन् । समयसीमा सकिएपछि मुख्यमन्त्रीमा केसीलाई बिहीबार नै नियुक्त गर्ने तयारी गरिएको छ ।
८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्य मात्र छन्। बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ । गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् । नवलपरासी पश्चिमबाट सूर्य चिन्ह लिएर स्वतन्त्रबाट निर्वाचित सांसद अजय शाही बुधबारदेखि ४ दलको गठबन्धनमा खुलेपछि गठबन्धनमा सांसद संख्या ४३ पुगेको छ ।
(कान्तिपुर दैनिक)
