
चितवन — २८ श्रावण २०७८
चितवन, सञ्जुमाया चेपाङलाई शिक्षक र साथीहरू बधाई दिन चाहन्छन् । भेट्न जाऊँ– विकट गाउँ । फोन गरौं– नेटवर्क नै टिप्दैन । ‘सम्पर्क हुन सकेन’ भन्ने सूचना सुनेर उनीहरू दिक्क छन् । गाउँ नछाडेको भए उनले पाँच कक्षाभन्दा माथि पढ्ने अवसर सायदै पाउने थिइन् । तर गाउँदेखि निकै टाढा बसेर पढेको प्रतिफल सञ्जुलाई प्राप्त भएको छ ।यसपालि एसईईमा उनले ३.६ जीपीए (ए प्लस) ल्याइन् । जुन सफलतामा उनले भरपुर खुसी साट्ने मौका भने पाइनन् । उनको घर चितवनको विकट पहाडी क्षेत्र लोथरको कान्दा गाउँमा छ । त्यहाँबाट गाडी चल्ने ठाउँसम्म पुग्न कम्तीमा ३ घण्टा उकालो–ओरालो पैदल पार गर्नुपर्छ । गाडीमा पनि करिब ४ घण्टामा मात्रै सदरमुकाम भरतपुर आइपुगिन्छ । गाउँकै कान्देश्वरी विद्यालयबाट सञ्जुले कखरा सिकिन् ।
कान्दा गाउँमा यसअघि दुई जनाले मात्रै एसईई उत्तीर्ण गरेका थिए । ‘यो वर्ष सञ्जुसहित ६ जनाले पास गरे,’ कान्देश्वरी विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले भने, ‘ती सबै गाउँदेखि टाढा गएर पढ्नेहरू हुन् ।’कान्देश्वरी २०५८ सालमा खुलेको हो । अर्को वर्षदेखि थपलिया त्यहाँका प्रधानाध्यापक छन् । एक कक्षामात्रै पढाइ हुने स्कुललाई उनले सात कक्षासम्म पढाइ हुने बनाएका छन् । पाँचभन्दा माथि पढाइ हुन अरु स्कुल निकै टाढा छन् । यसअघि एसईई उत्तीर्ण गर्ने बुद्धिमाया चेपाङ र शोभा चेपाङ भरतपुर र रत्ननगर बसेर पढेका थिए । थपलियाले भने, ‘गाउँमा माथिल्लो कक्षाका स्कुल भए पो पढ्नु । पढ्नकै लागि गाउँ छाड्ने चलन थिएन ।’
सञ्जुलाई भने एउटा अवसर जुट्यो । २०६७ जेठमा जंगली च्याउ खाएर कान्दामा एकै घरका आठ जना बिते । समाचार संकलन गर्न पुगेका पत्रकार एकल सिलवाल ‘कान्दा रूपान्तरण’ अभियानमा लागे । उनको मितेरी फाउन्डेसन नामक संस्थाले पढ्न इच्छुक बालबालिकालाई काठमाडौं लैजाने भयो । सञ्जुसहित १२ जना जान तयार भए । उनीहरू कीर्तिपुर भत्केपाटीस्थित कोट्स (चिल्ड्रेन अफ दि स्ट्रिट्स) नामक संस्थाले सञ्चालन गरेको होस्टेलमा बसे । पढ्नेलगायत सबै खर्च संस्थाले बेहोर्दै आयो ।घर छाडेको झन्डै १० वर्षपछि सञ्जुले विकट चेपाङ गाउँलाई अहिले एउटा गतिलो उपहार दिएकी छन् । ‘उनको रुचि कम्प्युटरमा छ । कम्प्युटरको पढाइलाई राम्रोसँग अघि बढाउने कुरा गर्छिन्,’ कोट्सका अध्यक्ष हरिप्रसाद शर्माले भने, ‘नागरिकतालगायत कागजपत्र बनाउन गाउँ पठाएको थिएँ । अहिले घरमै छिन् । तर, त्यहाँ पटक्कै फोन पनि नलाग्ने रहेछ ।’ सञ्जु कीर्तिपुरको ग्रिन भिलेज एजुकेसन फाउन्डेसनमा पढेकी हुन् ।
(कान्तिपुर दैनिक)
