Fast Nepal News

प्रेमले जोड्यो, जातले तोड्यो

banner single news

सप्तरी — २७ श्रावण २०७८

सप्तरी , विवाहको कुरा गर्न गत फागुन ८ मा विराटनगरबाट केही व्यक्ति सप्तरी सुरुंगा नगरपालिका–७ स्थित ज्योति पासवानको घरमा आए । दुवै पक्षबीच छलफल भएपछि कुरा छिनेर साँझतिर उनीहरू फर्किए । त्यसको केहीबेरमै अचानक आइपुगे छिमेकी युवक कृष्ण मिश्र । उनले एकाएक भन्न थाले, ‘मैले ज्योतिसँग विवाह गरिसकेको छु । अब उसले कहींकतै विवाह गर्न पाउँदिन ।’त्यति भनिसकेपछि उनले ज्योतिलाई करिब २ सय मिटर दूरीमा रहेको आफ्नो घरमा लिएर गए । २४ वर्षका कृष्ण ब्राह्मण समुदायका र १९ वर्षीया ज्योति दलित समुदायको दुसाध परिवारकी हुन् ।

ज्योतिलाई घर भित्र्याएपछि कृष्णलाई उनका बुबाआमा र परिवारका सदस्यले छोड्न दबाब दिए । तर उनले ज्योतिसित प्रेम गरेको र सँगै बाँच्ने–मर्ने कसम खाँदै जनकपुरस्थित मन्दिरमा विवाह गरेकाले छोड्न नसक्ने बताए । स्थानीयका अनुसार कृष्णका बुबा अखिलेश, वडाध्यक्ष शिवनारायण चौधरीसहित बसेको पञ्चायतीमा कृष्णलाई पैतृक सम्पत्ति वा प्रेमिका (पत्नी) मध्ये एक रोज्न भनियो । उनले आफूलाई सम्पत्ति नचाहिने बरु ज्योतिसँग जसोतसो जीवन जिउने अडान लिए ।पञ्चायतीमा उनले आफू र ज्योतिबीचको विवाहका केही तस्बिर पनि देखाए । तर मिश्र परिवार ज्योतिसँगको विवाह स्वीकार्न राजी भएन ।

परिवारले अस्वीकार गरेपछि उनीहरू फागुनमै घरबाट भागे र सिरहाको मिर्चैयामा बस्न थाले ।ज्योतिकी आमा इनरदेवीका अनुसार असार पहिलो साता उनीहरू लहानस्थित पुष्पाञ्जली होटलमा दुई दिन बसेका थिए । त्यतै स्थायी रूपमै बसेर केही काम गर्ने भन्दै दिउँसोको समय ज्योतिको मोबाइल लिएर कृष्ण कोठा खोज्नका लागि निस्किएका थिए  ।अबेरसम्म फर्केर नआएपछि ज्योति अत्तालिएकी थिइन् । मध्यरात होटलबाट उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय लहान ल्याएर प्रहरीले माइतीको जिम्मा लगाएको थियो । असार पहिलो सातादेखि ज्योति माइतीमै बस्दै आएकी थिइन् ।विवाह गरेर कृष्णले आफूलाई छाडेर गएको वा उनलाई परिवारले बेपत्ता बनाएको भन्ने कुरामा छोरी अलमलमा रहेको आमा इनरदेवीको भनाइ छ ।

Inside Article Ads

‘होटलको कोठाबाट घर ल्याएदेखि उनी विक्षिप्त अवस्थामा थिइन्,’ उनले भनिन्, ‘कोठाबाट निस्कन पनि डराउँथिन् ।’माइतीको शरणमा रहेकी ज्योति घरबाहिर निस्कँदा समाजमा धेरैले उनको कुरा काट्ने गरेका थिए । ज्योतिले ‘जसलाई सारा जीवन र इज्जत सुम्पिदिएँ, उसैले छाडेर गयो, गाउँ/समाजमा पनि मेरै विषयमा नानाथरी कुरा गर्छन्,’ भन्दै दुखेसो पोख्ने गरेको इनरदेवीले सुनाइन् ।गत शनिबार बुबाआमा नजिकैको पसलमा गएका बेला बिहान साढे ८ बजे भान्सा कोठामा सलको पासो लगाएर ज्योतिले आत्महत्या गरेको परिवारको भनाइ छ । प्रेमी (पति) को धोका र सामाजिक अवगाल सहन नसकेरै छोरीले आत्महत्या गरेको आमा इनरदेवीको दाबी छ ।

इलाका प्रहरी कार्यालय कडोरवनाका निरीक्षक वीरेन्द्र पासवानले पीडित पक्षको जाहेरी आएपछि कारबाही प्रक्रिया अघि बढाइने बताए । ज्योतिका बुबा प्रमोदका अनुसार आत्महत्या दुरुत्साहन मुद्दामा जाहेरी दिने तयारी छ । ‘मेरी छोरीले अन्याय सहन नसकी प्राण त्याग गरेकी छन्,’ उनले भने, ‘न्यायका लागि सबैसँग अनुरोध गर्छु ।’कृष्णले ज्योतिलाई साथमै लिएर फागुनमा घरबाट भागेको उनका बुबा अखिलेशले पनि स्वीकार गरेका छन् । ‘मेरो छोराले हामी सबै र सम्पत्तिलाई छाडेर त्यही केटीलाई रोजेर गएको हो,’ उनले भने, ‘भागेर कता गए कता, हामीलाई केही थाहा छैन । हाम्रो सम्पर्कमा पनि थिएनन् ।’ खोजी गरे पनि छोराको अझै पत्ता नलागेको उनको भनाइ छ ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.