
कञ्चनपुर — २६ श्रावण २०७८
कञ्चनपुर, फलामको पिँजडाजस्तै सानो बाक्सा । तार लट्ठामा झुन्ड्याइएको छ । बीचमा महाकाली नदी । दुवैतर्फ प्लास्टिकका डोरी बाँधिकएको छ । बाक्साभित्र विभिन्न निर्माण सामग्री भरेर पारितर्फबाट तानिन्छ । दुई/तीन जनाले डोरीले तानेर पारि पुगेपछि बाक्साभित्रका सबै सामग्री निकालिन्छ । त्यसपछि पुनः वारितर्फ तानेर भरेर पठाइन्छ । यो क्रम दिनभरि नै चलिरहन्छ ।यो दृश्य महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल निर्माणस्थलको हो । पुल निर्माणका लागि निर्माण सामग्री यही तुइनबाट नदीपारिसम्म पुर्याइन्छ । सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजारलगायत सामग्री यसैबाट पारि पठाइन्छ ।
पहुँच मार्ग भत्किएकै कारण पारितर्फ सडक निर्माणको काम पनि बन्द हुन पुगेको छ । पुलदेखि दोधारा चाँदनीको मलेरिया नालासम्म करिब अढाई किलोमिटर सडक निर्माणको काम अब पहुँच मार्ग बनेपछि मात्रै सुचारु हुनेछ । वारिपट्टि सडक निर्माणको काम भने चलिरहेको छ ।असारमै आएको बाढीले विभिन्न किसिमका उपकरणहरू बगाएकोले बर्खापछि मात्रै सडक कालोपत्रको काम अगाडि बढ्ने निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेयले बताए । गड्डाचौकीदेखि पुलसम्म करिब ६ किलोमिटर सडकको बेस निर्माणको काम चलिरहेको छ । लकडाउनको अवधिमा समेत कामदारको कोरोना परीक्षण गरेर पुल निर्माणको काम धमाधम चलिरहेको थियो । तर बाढीले पहुँच मार्ग भत्काएपछि काम प्रभावित हुने अवस्था आएको थियो । पहुँच मार्गकै विकल्पमा तुइन जडान गरिएको हो ।
(कान्तिपुर दैनिक)
