
भक्तपुर — २६ श्रावण २०७८
भक्तपुर , भूकम्पले क्षति गरेको ६ वर्ष भइसक्दा पनि विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबारक्षेत्र परिसरको ऐतिहासिक सिंहध्वाका दरबार (हाल राष्ट्रिय कला संग्रहालय) को भवन पुनर्निर्माण हुन सकेको छैन । दरबार कुन शैलीमा बनाउने भन्नेमा पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाबीचको विवादका कारण पुनर्निर्माण अन्योलमा परेको हो ।नगरपालिकाले लाल बैठकसहितको दरबार पुराना प्रमाणहरूका आधारमा मल्लकालीन शैलीमा पुनर्निर्माण गर्ने अडान राखेको छ । विभागले भने हालकै शैलीमा पुनर्निर्माणका लागि २०७५ भदौ मसान्तभित्र सक्ने गरी ठेक्कासमेत दिएको थियो । तर नगरपालिकाको अनुरोधमा विभागले ठेक्का नै रद्द गरेको थियो ।
हाल राष्ट्रिय कला संग्रहालय रहेको भवनको छानाबाट पानी चुहिन्छ । भूकम्पअछि प्रदर्शनमा राखिएका पौराणिक प्रस्तर कला, चित्रकला, धातु र काष्ठकला दत्तात्रयमा राखिएको संग्रहालय भक्तपुरका प्रमुख मोहनसिं लामाले बताए । जसले गर्दा पर्यटकहरूले पौराणिक, ऐतिहासिक कला अवलोकन गर्न पाएका छैनन् । ‘संग्रहालयका कतिपय सामग्री पश्चिमपट्टिको भवनमा स्टोर गरेका छौं,’ उनले भने । सिंहध्वाका दरबार नेपाल सम्वत् ८१८ मा राजा भूपतीन्द्र मल्लले निर्माण गरेका हुन् ।सिंहध्वाकालाई ‘न्हयकं झ्याः’ दरबारको नामले पनि चिनिन्छ । सिंहध्वाका दरबार प्रवेशद्वारमा रहेको जोडा सिंहबाट पश्चिमतर्फ मल्लकालीन शैली र पूर्वतर्फ अर्थात् स्वर्णद्वारतर्फ चुनले पोतेको राणाकालीन (निओ क्लासिक) शैलीको दरबार (लाल बैठक) गरी दुई खण्डमा विभाजित छ । दरबारको मूलद्वारमा देवताको मूर्तिमा अभिलेखसहित ढुंगाको एक जोडी सिंह, ढुंगाको हनुमान र नरसिंहको मूर्ति अवस्थित छ । भूकम्पले लाल बैठकमा ठूलो क्षति पुगेको छ । हाल दरबारको कला संग्रहालय र लाल बैठक भागलाई टेकोको भरमा अड्याइएको छ ।
