
लमजुङ — २४ श्रावण २०७८
लमजुङ , मर्स्याङ्दी गाउँपालिकाले सडक तथा अन्य योजना निर्माण गर्दा डोजर, एक्स्काभेटरलगायत मेसिनरी सामग्री प्रयोगमा रोक लगाएको छ ।बर्खायाममा बाढीपहिरो निम्त्याउने भन्दै ४ महिना डोजर, एक्स्काभेटरलगायत मेसिनको प्रयोग गर्न रोक लगाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार जेठ, असार, साउन र भदौ महिनामा निर्माण गरिने योजनामा मेसिनरी सामग्री प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ ।
उनका अनुसार चालु आर्थिक वर्षदेखि सडक निर्माण योजनामा कम्तीमा ५ प्रतिशत ‘बायोइन्जिनियरिङ’ का लागि बजेट व्यवस्थापन गरी लागत इस्टिमेट तयार गरिने भएको छ । ‘सडक निर्माणमा उक्त ठाउँको प्राविधिक र भौगोलिक अध्ययन अनिवार्य गरिएको छ,’ उनले भने । गाउँपालिकाले भदौ मसान्तसम्म सबै योजनाको टेन्डर निष्कासन सकेर भदौ १५ भित्र काम अघि बढाउने निर्णय गरेको अध्यक्ष गुरुङले बताए । गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले योजनाका लागि भदौ मसान्तभित्र उपभोक्ता समिति गठन गरिसक्ने समयसीमा तोकेको छ ।
असोज १५ गतेभित्र उपभोक्ता समितिका पदाधिकारीलाई तालिम दिएर पुस १५ गतेभित्र प्राविधिक इस्टिमेट तयार पार्ने र माघ १५ गतेसम्म सबै योजना सम्झौता सक्ने निर्णय गरिएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटनलगायतलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको उपाध्यक्ष विकले बताए । मर्स्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४८ करोड २७ लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
(कान्तिपुर दैनिक)
