Fast Nepal News

जीर्ण सडकले दुर्घटना बढ्यो

banner single news

सल्यान — २२ श्रावण  २०७८

सल्यान, साउन ६ गते कालीमाटी गाउँपालिकाको कालीमाटीमा रोकिराखेको टिपर अचानक गुड्दा टायर फेर्दै गरेका टिपरका सहचालक ज्ञानबहादुर ओलीको मृत्यु भयो । त्यसको दुई दिन नबित्दै छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट लेखपोखरा जाँदै गर्दा एउटा मोटरसाइकल दुर्घटनामा परी लेखपोखरा घर भएका चालक शालिकराम बुढाले ज्यान गुमाए । जिल्लामा पछिल्लो समय सडक दुर्घटना बढेको छ ।

सडक जीर्ण बन्दै जानु, तीव्र गति, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवनलगायत कारण दुर्घटना बढ्दै गएको हो । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६८ वटा सवारी दुर्घटना भएकामा गत आर्थिक वर्ष २०७७/७८ मा १ सय ६३ सवारी साधन दुर्घटनामा परे । अघिल्लो वर्षभन्दा गत वर्ष झन्डै ६० प्रतिशतले दुर्घटनाको दर बढेको प्रहरीको तथ्यांक छ । सबैभन्दा बढी मोटरसाइल दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक दीपेन्द्रकुमार केसीले बताए । उनका अनुसार गत वर्ष १९ बस, १५ ट्रक, २१ ट्र्याक्टर, ३४ जिप र ५० मोटरसाइकल दुर्घटना हुँदा ९ जनाले ज्यान गुमाएका छन् । गत आवमा २ सय ८ जना घाइते भए । जीर्ण सडक र चालकको लापरबाहीका कारण धेरै दुर्घटना हुने गरेको उनले जानकारी दिए ।

दुर्घटना न्यूनीकरण गर्न विभिन्न निकायसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जोखिमयुक्त सडकमा सूचना बोर्ड टाँस गरिएको छ । बेलाबेलामा चालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण दिने गरिएको छ । प्रहरी नायब निरीक्षक केसीले ठूला गाडीले बढी रकम आम्दानी गर्ने लोभमा क्षमताभन्दा बढी यात्रु र सामान राख्दा पनि दुर्घटना हुने गरेको बताए । उनका अनुसार गत वर्ष दुर्घटना बढे पनि मृत्युदर भने घटेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ४६ दुर्घटना हुँदा १२ जनाको मृत्यु र ४२ घाइते भए । त्यस्तै २०७४/७५ मा ३७ दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । १ सय २९ घाइते भए । मदिरा सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ ।

Inside Article Ads

सडक जीर्ण, साँघुरो र खाल्डाखुल्डीसहितका भएकाले पनि दुर्घटना निम्त्याएको जिल्ला प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले बताए । उनका अनुसार कच्ची सडकमा बढी दुर्घटना हुन थालेका छन् । ‘दुर्घटना न्यूनीकरणका लागि जिल्लाभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘चालक र सहचालकलाई ट्राफिक नियमबारे तालिम दिइरहेका छौं, उनीहरूका लागि बेलाबेलामा स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको छ ।’उनले विद्यालयमा समेत सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । गत आर्थिक वर्षमा छत्रेश्वरी गाउँपालिकाको दमाचौर नजिकै सबैभन्दा बढी दुर्घटना भएकोमा ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, राप्ती लोकमार्गअन्तर्गतको कपुरकोटदेखि बाग्चौर र सल्लीबजार–चौरजहारी सडकको सल्लीबजारमा पनि बढी दुर्घटना भएका छन् ।

(कान्तिपुर दैनिक) 

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.