Fast Nepal News

लागत बढाएर १२ करोड ४० लाखमा फार्मेसी भवन

banner single news

सुनसरी — २२ श्रावण  २०७८

सुनसरी , भवन निर्माणको लागत अनुमान १ करोड ८७ लाख । ठेक्का सम्झौता १२ करोड ४० लाखमा । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वर्तमान र पूर्वपदाधिकारीले सरकारी कोषमा गरेको ब्रह्मलुटको अर्को उदाहरण हो यो ।प्रतिष्ठानले चार तले फार्मेसी भवन निर्माणका लागि श्यामसुन्दर निर्माण सेवालाई लागत अनुमानभन्दा साढे ६ गुणा बढीमा ठेक्का दिएको हो । विष्णु बुढाथोकी सञ्चालक रहेको उक्त कम्पनीसँग प्रतिष्ठानले २०७४ असार ३० मा सम्झौता गरेको थियो । सम्झौताअनुसार भवनको काम २०७७ असार १८ सम्ममा सकिनुपर्ने थियो । तर, निर्माण आधा मात्रै सकिएपछि २०७७ पुस ३० मा प्रतिष्ठानले ठेक्काको म्याद थपेको थियो । अहिले भवन निर्माण ७९ प्रतिशत मात्रै पूरा भएको छ । निर्माण कम्पनीले ११ करोड २८ लाख रुपैयाँभन्दा बढी भुक्तानी लिइसकेको छ ।

भवनको काम अझै २१ प्रतिशत बाँकी रहे पनि निर्माण कम्पनीले भुक्तानी लिन भने १ करोड ११ लाख रुपैयाँ मात्रै बाँकी छ । पूर्वउपकुलपति बलभद्रप्रसाद दासले पदबाट अवकाश पाउने बेलामा तत्कालीन रजिस्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक शाखाका कर्मचारी कमल रायमाझी र प्रतिष्ठानका सिभिल इन्जिनियर मदन साहले लागत बढाएर फार्मेसीको भवन ठेक्का लगाएका थिए ।

ठेक्का लिएपछि श्यामसुन्दर निर्माण सेवाले सुशील झाको गिना कन्स्ट्रक्सन कम्पनीलाई सब–कन्ट्र्याक्टमा काम दिएको छ । नक्सा पास नगरी निर्माण गरिएको उक्त भवनको लागत बढाउनुका पछाडि कमिसन खाने नियत देखिएको प्रतिष्ठानका एक प्राध्यापकले बताए । उनले भने, ‘कता १ करोड ८७ लाखको बजेट, कता १२ करोड ४० लाखको बजेट । जति बढी लागत बनायो, त्यति नै बढी कमिसन आउने भएकाले ठेकेदार कम्पनीसँग मिलेमतो गरेर भवन निर्माण हुँदै छ ।’

बीपीमा पुरानै पाठ्यक्रम, विदेशमा मान्यता पाउन चुनौती

कुल लागतको ९१ प्रतिशत रकम निर्माण कम्पनीले बीपी प्रतिष्ठानबाट पटक–पटकको रनिङ बिलमार्फत भुक्तानी लिइसकेको छ । मौज्दात रहेको ९ प्रतिशत रकमले निर्माण सम्पन्न गर्न अझै २१ प्रतिशत बाँकी छ । प्रतिष्ठानका सिभिल इन्जिनियर विकास बस्यालले भने, ‘निर्माण सम्पन्न गर्न बाँकी रहेको २१ प्रतिशत काम यो तीन महिनामा सकिन्छ । अब धेरै काम बाँकी छैनन् । पछिल्लो समयमा थपिएको म्यादभित्रै फार्मेसी भवन तयार हुन्छ ।’

भवन निर्माणको परामर्शदाता केज कन्सल्ट्यान्ट प्रालि हो । रनिङ बिलमार्फत भुक्तानी लिएर पनि भवन निर्माण नभइरहेका बेला हालका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मात्रै ३ करोड ५५ लाख रुपैयाँ भुक्तानी दिएको बैकुण्ठ अर्याल संयोजक रहेको उच्चस्तरीय कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

८ करोड भुक्तानी भएको सीटी स्क्यान मेसिनको पत्तो छैन

फार्मेसी भवन निर्माणको सम्झौता गर्नुभन्दा केही महिनाअघि श्यामसुन्दरका सञ्चालक बुढाथोकीले २०७४ जेठ १० मा प्रतिष्ठानलाई पत्र लेख्दै गिना कन्स्ट्रक्सनका झाले काठमाडौंको कृषि विकास बैंकको नक्कली बैंक ग्यारेन्टी बनाएर प्रतिष्ठानबाट कम्पनीका नाममा ५० लाख रुपैयाँ भुक्तानी लिएकाले त्यसको जिम्मेवार नबन्ने जानकारी दिएका थिए ।

Inside Article Ads

उक्त पत्रमा निर्माण कम्पनीले झालाई प्राविधिक र प्रशासनिक काम गर्ने मात्रै अख्तियारी दिएको तर आर्थिक कारोबार गर्ने, चेक लिने, बैंक ग्यारेन्टी बनाउने कामको अधिकार नदिएको उल्लेख छ । आर्थिक कारोबारको अख्तियारी नदिँदानदिँदै पनि झाले कम्पनीको नाम जोडेर १ करोड ४० लाख रुपैयाँको बैंक ग्यारेन्टी बनाएको भन्दै बुढाथोकीले प्रतिष्ठानसँग कागजपत्र माग गरेका थिए । झाले नक्कली बैंक ग्यारेन्टी बनाएको र प्रतिष्ठानबाट ५० लाख रुपैयाँ भुक्तानी लिएको भन्दै श्यामसुन्दरका सञ्चालक बुढाथोकीले प्रतिष्ठानका रजिस्ट्रारलाई लेखेको पत्रबारे भने प्रतिष्ठानका इन्जिनियर बस्यालले अनभिज्ञता प्रकट गरे ।

७६ करोड लागतको भवन २ अर्ब ३३ करोडमा ठेक्का, म्याद थप्दा पनि अपूरै

करिब सात वर्षअघि लामा कन्स्ट्रक्सनको प्रोजेक्ट म्यानेजर भएर झाकै रेखदेखमा निर्माण भएको प्रतिष्ठानको कलेज निर्माण सम्पन्न नहुँदै चुहिएर बसिनसक्नुभएको थियो । उक्त भवन भारतीय सरकारको १४ करोड लागतमा निर्माण भए पनि छतबाटै पानी चुहिने, फल्स सिलिङ झर्ने, साउन्ड सिस्टम र विद्युत् प्रवाहमा समस्या देखिएको थियो । पछि तिनै झालाई फार्मेसी भवन र कोभिड–१९ अस्पतालको इन्टरनल स्ट्रक्चर बनाउन ७४ लाख रुपैयाँमा उपकुलपति गिरीले ठेक्का दिएका थिए ।

पहिला नै ७ करोड लागतमा निर्माण भएको भवनभित्र कोभिड अस्पतालका लागि आवश्यक इन्टरनल स्ट्रक्चर तयार गर्न उपकुलपति गिरीले झालाई ठेक्का दिन १५ दिनभित्रमा निर्माण गरिसक्नुपर्ने सर्त राखेर टेन्डर खोलेका थिए । १५ दिनमै काम सक्नुपर्ने सर्त राखिएपछि अन्य ठेकेदार कम्पनीले टेन्डर हालेनन् । झाले चार महिनापछि मात्र कोभिड अस्पतालको इन्टरनल स्ट्रक्चर तयार गरेर बुझाए ।

बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

प्रतिष्ठानभित्र यसअघि निर्माण गरेका विभिन्न भौतिक संरचनाको गुणस्तर कमसल भए पनि कमिसनका कारण पदाधिकारीले झालाई नै ठेक्का दिएको प्रतिष्ठान स्रोतले बतायो । सुरुको लागत अनुमानभन्दा कैयौं गुणा लागत बढाएर ठेक्का लगाइनुमा प्रतिष्ठानभित्रै पदाधिकारी, खरिदसँग सम्बन्धित कर्मचारी र व्यापारीबीचमा ठूलो र्‍याकेटले काम गरिरहेको गत सोमबार सार्वजनिक बैकुण्ठ अर्यालको प्रतिवेदनले पनि पुष्टि गरेको छ । प्रतिष्ठानमा चिकित्सकले आवास नपाइरहेका बेला झा भने एउटा ब्लक नै कब्जामा लिएर ६ वर्षदेखि बस्दै आएका छन् ।

(कान्तिपुर दैनिक)

Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.