
काँकडभिट्टा — २२ श्रावण २०७८
काँकडभिट्टा , जिल्ला अदालत झापामा लाखौं मूल्यका सवारीसाधन लामो समयदेखि कार्यालयमा थन्किएका छन् । समयमा लिलामी नगर्ने सरकारी परिपाटीको सिकार बनेका ती साधन कवाडीमा परिणत भएका छन् । अदालतका तहसिलदार गणेश पाण्डेका अनुसार १ सय २४ मोटरसाइकल, १९ स्कुटर, १३ चारपाङ्ग्रे सवारी, २ अटो रिक्सा र ७ साइकल गरी १ सय ६५ सवारीसाधन थन्किएर बसेका छन् ।खास गरी चोरीका सवारी, लागूपदार्थ ओसारपसारमा प्रयोग गरिएका, विभिन्न आपराधिक गतिविधिमा प्रयोग गरिएका र दुर्घटनामा संलग्न सवारीहरू अदालतले दसी प्रमाणका रूपमा नियन्त्रणमा लिएको हो । ‘गाडी लिलाम गर्न मुद्दाको फैसला नै पर्खनुपर्ने बाध्यता हुन्छ,’ पाण्डेले भने, ‘जसका कारण गाडी कवाडी बन्ने गर्छन् ।’
डिभिजन वन कार्यालय र सबडिभिजन वन कार्यालय सुरुंगामा थन्किएका गाडी समयमै लिलाम–बिक्री नगरिँदा कामै नलाग्ने अवस्थामा पुगेका हुन् । ट्रक, पिकअप, ट्र्याक्टरलगायत गाडी वन कार्यालय परिसरमै झारजंगलले ढाकेको छ । डिभिजन वन कार्यालय झापामा १२ र सबडिभिजन वन कार्यालय सुरुंगामा २५ गरी ३७ वटा गाडी वर्षौंदेखि कार्यालय परिसरमै थन्किएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी ओमनाथ भट्टराईले जनाए । ‘झन्झटिलो प्रक्रियाका कारण हालसम्म यी सवारीको लिलाम बिक्री गर्न सकिएको छैन,’ भट्टराईले भने । गाडीका पार्टपुर्जा खिया लाग्न थालेको छ । कतिपयको पार्टपुर्जा चोरिएको छ ।
‘विभिन्न मुद्दाका धेरै गाडीहरू छन्,’ झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले भने, ‘सबै लिलामी गर्नुपर्ने नहुन पनि सक्छन् ।’ उनका अनुसार लिलामी गर्नुपर्ने गाडीहरू भन्सार बुझाइन्छ । तर, यी सवारी किन कार्यालयमै अलपत्र छन् भन्नेबारे कार्यालयसँग यकिन जानकारी र तथ्यांक पनि छैन ।मेची भन्सार कार्यालयमा सबभन्दा बढी सवारी थन्किएका छन् । तीन वर्षदेखि लिलाम बिक्री हुन नपाएका कारण ती सवारी कार्यालय परिसरमा थन्किएका हुन् । भन्सारमा हाल करिब डेढ करोड मूल्य बराबरका १ सय ३६ थान सवारी लिलाम बिक्रीको पर्खाइमा छन् ।
भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले करिब तीन वर्षदेखि लिलाम हुन नपाएका ती सवारीको लिलामी प्रक्रिया सुरु भइसकेको जनाए । ‘सबै प्रक्रिया पूरा गरेर लिलामीको प्रक्रियामा थियौं, निषेधाज्ञाले थोरै समस्या भइदियो,’ उनले भने, ‘अब चाँडै लिलामीको सूचना प्रकाशित गर्छौं ।’यसअघि भन्सारले ढिलो लिलामी गरेका कारण करोडौंका सवारी कवाडीको भाउमा बिक्री गर्नुपरेको थियो । बरामद गर्दा नयाँ रहेका सवारी पनि लिलाम गर्ने बेलामा कवाडीमा परिणत हुने गरेका उदाहरण धेरै छन् ।
(कान्तिपुर दैनिक)
