Fast Nepal News

हेल्मेट

banner single news

काठमाडौँ — २१ श्रावण  २०७८

काठमाडौँ, बिनाहेल्मेट मोटरसाइकल चलाउँदा पूर्वयुवराज पारस शाहलाई प्रहरीले रोकेको घटना चर्चाको विषय बन्यो । ‘श्रीपेच लगाउने टाउकोमा हेल्मेट लगाउन सुहाउँदैन’ भन्दै कतिपय युवाले पारसको पक्षमा महाराजगन्ज चोकमा प्रदर्शनसमेत गरे । तर, सडक दुर्घटनासम्बन्धी तथ्यांक भन्छ, ‘श्रीपेच नलगाए पनि ज्यान जोगिन्छ, हेल्मेट नलगाए भन्न सकिन्न ।’गत आर्थिक वर्षमा देशभर ३३ हजार १ सय २५ सवारी दुर्घटना भए, जसमा २ हजार ५ सय ११ जनाको मृत्यु भयो । सबैभन्दा बढी दुर्घटना दुईपाङ्ग्रे सवारीको भएको छ । प्रहरी प्रवक्ता वसन्त कुँवरका अनुसार गत वर्ष १७ हजार ८१ दुईपाङ्ग्रे साधन दुर्घटनामा परे । वर्षको लामो समय लकडाउन र निषेधाज्ञा भए पनि दुर्घटना भने अघिल्लो वर्षभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा पनि ७ हजार ९ सय ४५ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए ।

गत आर्थिक वर्षमा दुर्घटनाबाट उपत्यकामा मात्र १ सय ६६ जनाको ज्यान गएको छ । दुर्घटनामा मारिनेमध्ये ५० प्रतिशत यात्रु दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका डीएसपी सुनिलजंग शाह भन्छन्, ‘मृत्यु हुनेमा १७ देखि ३५ वर्ष उमेर समूहका मात्र ९१ जना छन् ।’दुईपाङ्ग्रे चलाउनेमा पनि हेल्मेट नलगाउँदा भएको दुर्घटनामा मृत्यु हुने जोखिम स्वतः बढी हुने विज्ञहरूको भनाइ छ । त्यसैले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३० को उपदफा (दुई) मा दुईपाङ्ग्रे सवारी चलाउँदा चालकले सुरक्षा टोपी (हेल्मेट) लगाउनु बाध्यात्मक व्यवस्था छ । त्यसो नगरे सोही ऐनको दफा १६४ को (ढ) अनुसार ट्राफिक प्रहरीले कारबाही गर्न सक्ने पनि उल्लेख छ । हेल्मेट नलगाई दुईपाङ्ग्रे साधन चलाए ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । १३ सयदेखि १६ सय ग्रामको हेल्मेटले जीवन बचाउन सक्छ । तर, कतिपयलाई यो नै भारी लाग्छ । ‘हेल्मेट नलगाउँदा म सानदार देखिन्छु भन्ने मानसिकता छ, अर्कोतिर ट्राफिकलाई देखाउन मात्र हेल्मेट लगाउने गरिएको पनि छ,’ डीएसपी शाहले भने, ‘यो सरासर गलत हो, हेल्मेट आफ्ना लागि आफैंले लगाउने हो ।’

उपत्यकामा दुर्घटनाबाट मोटरसाइकल एवं स्कुटर चालक र पैदल यात्रीको मृत्यु बढी हुने गरेको छ । फित्तासमेत नबाँधी हेल्मेट लगाउने पनि उत्तिकै छन् । ‘दुर्घटनामा जब मोटरसाइकल अन्य सवारीसँग ठोक्किन्छ,’ डीएसपी शाह भन्छन्, ‘हेल्मेट उछिट्टिएर २० मिटरभन्दा टाढा पुगिसक्छ, टाउकोमा गम्भीर चोट लाग्छ । यस्ता घटना हामीले कैयौं देखेका छौं ।’सिटबेल्ट र हेल्मेट नलगाई साधन चलाउनेलाई ट्राफिक प्रहरीले एकै शीर्षकमा राखेर कारबाही गर्छ । यो शीर्षकमा उपत्यकामा गत आर्थिक वर्षमा मात्रै १० हजार ९ सय ५८ जना कारबाहीमा परे । यसमध्ये ५० प्रतिशतभन्दा बढी हेल्मेट नलगाउने नै रहेको महाशाखाले जानकारी दिएको छ ।कतिपय सचेत नागरिक यस्ता पनि छन्, जसलाई मोटरसाइकलभन्दा हेल्मेट महत्त्वपूर्ण लाग्छ । यीमध्ये एक हुन् डा. शशांककुमार सिंह । उनलाई लाग्छ, ‘अन्य अंगमा भन्दा टाउकोमा लाग्ने चोट बढी संवेदनशील हुन्छ, पैसा केही बढी परोस् तर गुणस्तरीय हेल्मेट नै छान्छु ।’

हेल्मेट्स नेपालका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सजल जोशी बिनासर्त गुणस्तरीय हेल्मेट अनिवार्य लगाउन सुझाउँछन् । ‘अहिले मोटरसाइकल भनेको सोख मात्र होइन, अनिवार्य साधन हो,’ उनी भन्छन्, ‘तर, सुरक्षामा धेरै ध्यान गएको छैन, त्यसैमा सबैभन्दा बढी चेतना आवश्यक छ ।’ सुरक्षालाई प्राथमिकतामा राखी जोशी र प्रार्थना साखले सन् २०१६ हेल्मेट्स नेपाल सुरु गरेका छन् । ‘हेल्मेट किन्न आउने ग्राहकसँग बाइक चलाउने, छान्नेबारे सल्लाह दिन्छौं । उपयुक्त हेल्मेट उपलब्ध गराउँछौं ।’ हेल्मेट किन्ने ग्राहकलाई १ लाखदेखि ५ लाख रुपैयाँसम्मको बिमा सुविधा दिने गरेको पनि उनी बताउँछन् ।हेल्मेटमा पनि आईएसओ सर्टिफाइड, डीओटी सर्टिफिकेसन वा ईसीई सर्टिफिकेसन लेवल हुन्छन् । यस्ता हेल्मेट १५ सयदेखि दुई लाखसम्मका छन् । ‘यति महँगा हेल्मेट वर्षमा दुई/तीन जनाले मात्र किन्छन् । महँगा हेल्मेटमात्र सुरक्षित हुन्छन् भन्ने होइन तर सकेसम्म सम्झौता गर्नुहुन्न,’ जोशी भन्छन् ।

टेकुमा विष्णुराज जोशीले हेल्मेट बिक्री गर्न थालेको दुई वर्ष भयो । ‘अहिले सुरक्षाका दृष्टिले महँगै मूल्यका हेल्मेट खोज्ने बढेका छन् । हेल्मेट परिवर्तन गरीगरी लगाउनेहरू बढी आउँछन्,’ उनी भन्छन् । नेपालमा थाइल्यान्ड, चीन, भारत, इटली, फ्रान्सलगायत देशबाट हेल्मेट आउँछन् । त्यसो त नेपालमा पनि हेल्मेट उत्पादन सुरु भएको छ ।२०६२ सालमा त दुईपाङ्ग्रेमा सवार दुवै यात्रुलाई हेल्मेट अनिवार्य गरिएको थियो । ‘जुन नियम एक वर्ष पनि टिक्न पाएन । २०६३ सालमा सरकारले उक्त नियम हटाउन यातायात व्यवस्था विभागमार्फत ट्राफिक प्रहरीलाई भन्यो, सरकारको आदेश लागू भयो,’ २९ वर्ष ट्राफिक प्रहरीका रूपमा काम गरेका पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु सम्झन्छन् ।

Inside Article Ads

यातायात विज्ञ तथा ट्राफिक इन्जिनियर आशिष गजुरेल नेपालमा दुर्घटनामा ज्यान गुमाउनेमध्ये ५० प्रतिशत दुईपाङ्ग्रेका यात्रु भएको बताउँछन् । ‘गाडी दुर्घटना हुँदा मृत्यु हुने दर १ सय जनामा २० जना हुन्छ । तर, गम्भीर मोटरसाइकल दुर्घटना हुँदा १ सयमा ८० जनाको ज्यान जान्छ । बच्ने सबैभन्दा राम्रो उपाय हेल्मेट लगाउनु नै हो,’ उनी भन्छन्, ‘पछाडि बस्नेहरू सबैभन्दा बढी जोखिममा हुन्छन्, त्यसैले दुवै जनालाई हेल्मेट अनिवार्य गर्नुपर्छ ।’

३ वर्षमा ११ लाख ३६ हजार भित्रियो

पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुका अनुसार २०४६/४७ सालमा हेल्मेट अनिवार्य थिएन । मोटरसाइकल चलाउनेले हेल्मेट लगाउँथे, नलगाए पनि कारबाही हुँदैन थियो । ‘हेल्मेट लगाउनुपर्छ भन्ने चेतना थिएन । टोपी लगाएर पनि मोटरसाइकल चलाउँथे । सुरक्षाका लागि हेल्मेट चाहिन्छ भन्ने थिएन,’ उनी सम्झन्छन् ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मात्र हेल्मेट लगाउने विषयलाई कडीकडाउ गर्‍यो । ‘पहिला १०, १५, २० रुपैयाँसम्म जरिवाना हुन्थ्यो, त्यो पनि जिल्ला प्रशासन कार्यालयमार्फत,’ उनी भन्छन्, ‘सीडीओले चिनेकालाई जरिवाना नलिई पनि छाड्थे ।’ त्यो बेला वाग्मतीमा कुल यातायात साधन नै ४९ हजार मात्र रहेको उनले सुनाए । ‘मोटरसाइकल कम हुन्थे, सबै नगद नै तिरेर किन्नुपर्थ्यो,’ उनी भन्छन्, ‘अहिलेजस्तो बैंकमार्फत ऋण पाउने, किस्ता तिरेर लिने सुविधा थिएन ।’

अहिले बैंकहरूले सुविधा दिएपछि मोटरसाइकल किन्ने बढेका छन् । त्यसो त अहिले उपत्यकामा मोटरसाइकल दुर्घटना नभएको दिन हुँदैन । ‘यति धेरै सवारी चाप भनेर कल्पनासम्म गरिएको थिएन । तर, अहिले जनचेतना बढ्यो, हेल्मेट नलगाए टाउको फुट्ने र कारबाही हुने भन्ने भएपछि लगाउने बढेका छन्,’ हाछेथु भन्छन् ।त्यसो त तीन वर्षमा ११ लाख ३६ हजार ९ सय ५८ हेल्मेट आयात भएको तथ्यांक छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै १० लाख ६ हजार हेल्मेट आयात गरिएको छ । यसको मूल्य ९३ करोड ३ लाख रुपैयाँ छ । त्यस्तै वर्ष २०७६/७७ मा भने ३ करोड ७६ लाख रुपैयाँमा ६६ हजार ६ सय हेल्मेट आयात भए । वर्ष २०७५/७६ मा ४ करोड ३४ लाख रुपैयाँका ६३ हजार ५ सय ५९ हेल्मेट आयात भए । विभागका अनुसार अस्ट्रेलिया, बेल्जियम, चीन, हङकङ, भारत, फ्रान्स, जापान, मलेसिया, स्पेन, थाइल्यान्डलगायत देशबाट हेल्मेट आयात भइरहेका छन् ।

(कान्तिपुर दैनिक)

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.