
सिन्धुपाल्चोक — २१ श्रावण २०७८
सिन्धुपाल्चोक, एक महिनाअघि मर्मत गरेर सञ्चालनमा आएको कोदारी राजमार्गमा फेरि क्षति पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित तातोपानी जोड्ने लिपिङ पुल, कोदारी र घट्टे खण्ड भासिएको हो । गत असार १ मा ३५ मिटर भासिएपछि सडक मर्मत गरिएको थियो । बुधबार पुरानै ठाउँमा फेरि भासिएको हो । सडक भासिएको ठाउँमाथि बस्ती छ । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतोका अनुसार त्यस क्षेत्रमा तत्कालै खन्दा माथिल्लो कोदारी र चौकी डाँडाको विभिन्न बस्ती पनि भासिने जोखिम छ । ‘बस्ती पूरै बग्ला भन्ने डर छ, बर्खाका कारण एकदमै सतर्कतासाथ मर्मत गरेर सडक सञ्चालनमा ल्याएका थियौं तर केही दिनमै फेरि भासिएर भोटेकोसीमा मिसिएको छ,’ उनले भने ।
त्यसैगरी भोटेकोसी–२ कै कोदारी भेगको लालवीर चोक र माख्लो तामाङ गाउँ गरी एक सय घरमध्ये ३० परिवार उच्च जोखिममा परेका छन् । आफ्नो घरभन्दा माथिल्लो भूभाग धाँजा फाटेको र तल कोदारी सडक क्रमशः भासिन थालेपछि बस्ती जोखिममा परेको स्थानीय फुनु शेर्पाले बताए । सबैतिर बस्ती जोखिममा परेकोबारे खबर गर्दा पनि वास्ता नभएको स्थानीयको गुनासो छ । तातोपानी क्षेत्रको सडक बर्खामा भोटेकोसीको कटान र पहिरोले क्षतविक्षत हुँदै आएको छ ।
(कान्तिपुर दैनिक)
