
काठमाडौँ — २ १ श्रावण २०७८
काठमाडौँ, नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरेको छ । विद्यालयदेखि विश्वविद्यालय तहको अध्ययन तथा अध्यापन कार्यका निम्ति सो पुस्तक प्रकाशन गरिएको हो । उक्त पुस्तकलाई मानक व्याकरणका रूप लिइएको छ । भाषाशास्त्री, शिक्षाशास्त्री, प्राध्यापक शिक्षक र विद्यार्थीका निम्ति प्रयोगात्मक तथा रचनामुखी आधिकारिक शैक्षणिक व्याकरणका रूपमा लिइएको छ ।
प्रतिष्ठानले यसअघि २०३३ सालमा ‘बृहत् नेपाली व्याकरण’, २०४५ सालमा ‘नेपाली व्याकरणका केही पक्ष’, २०५२ सालमा ‘सजिलो नेपाली’, २०५४ सालमा ‘नेपाली वाक्य व्याकरण’ र २०७१ सालमा ‘नेपाली सन्दर्भ व्याकरण’ प्रकाशित गरेको छ ।प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीका अनुसार यसअघिका सबै व्याकरण प्राज्ञिक महत्वका छन् । ‘कक्षामा विद्यार्थीलाई नै उपयोगी हुने नेपाली शैक्षणिक व्याकरणको आवश्यकता महसुस गरिएको थियो,’ विद्यालय र महाविद्यालयका कक्षा कोठामा प्रयोग गरिने अभिप्रायले प्रयोगात्मक विधि प्रयोग गरिएको उल्लेख गर्दै कुलपति उप्रेतीले भने, ‘परम्परागत व्याकणभन्दा यो व्याकरण बेग्लै प्रकृतिको रहेको छ । यो शिक्षक र विद्यार्थीका लागि रोचक र उपयोगी हुनेछ ।’
प्राध्यापक हेमनाथ पौडेल, प्राध्यापक रमेशप्रसाद भट्टराई र डा। प्रेमप्रसाद चौलागाईंले उक्त व्याकरण लेखेका हुन् । पछिल्लो दशकमा परम्परागत मानक नेपाली भाषाको विवादसमेतलाई सम्बोधन गरेको छ । ‘यो व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि त अति उपयोगी छ नै साथै मानक नेपाली व्याकरण जान्न, बुझ्न चाहने सबै व्यक्तिहरूका लागि पनि यो उत्तिकै महत्त्वपूर्ण बनेको देखिन्छ,’ प्रतिष्ठानको विज्ञप्तिमा छ ।
