Fast Nepal News

जनशक्ति अभावले उपचार प्रभावित

banner single news

मोरङ — २० श्रावण  २०७८

मोरङ, विराटनगरस्थित कोसी अस्पतालको रेडियोलोजी विभागमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सेवाग्राही मर्कामा परेका छन् । रेडियोलोजी विभागको सेवा लिन घण्टौं लाइनमा बस्दा पनि सेवा नपाउने भएपछि सेवाग्राहीले सोमबार आन्दोलनसमेत गरेका छन् ।उपचारका लागि आएका राजदेव यादवले आइतबारदेखि अल्ट्रासाउन्ड गराउन लाइनमा बस्दाबस्दै सोमबार पनि पालो नआउने भएपछि आन्दोलनमा उत्रिन बाध्य भएको सुनाए । दैनिक अढाई सय बिरामी रेडियोलोजी सेवा लिन आउने गरेको अस्पतालको तथ्यांक छ । तर विभागमा एक जनामात्रै चिकित्सक रहेकाले ५० देखि ६० जनाको मात्रै जाँच गर्न भ्याउने भएकाले समस्या भएको हो ।

अस्पतालमा रेडियोलोजी विभागअन्तर्गत अल्ट्रासाउन्ड, सिटी स्क्यान र एक्स–रे सेवा उपलब्ध छन् । जसमा तीन जना चिकित्सकको दरबन्दी भए पनि ५ वर्षदेखि रिक्त छ । दरबन्दीअनुसार चिकित्सक नभएकाले सेवा प्रभावित हुँदै आएको कोसी अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादवले बताए । ३ सय ५० शय्याको अस्पतालमा अहिले दैनिक हजारदेखि १२ सयसम्म बिरामी आउने गरेका छन् ।डा. यादवले एघारौं तहको एक र नवौं तहको दुई जना रेडियोलोजिस्टको दरबन्दी रिक्त रहेकाले सेवा सञ्चालनमा समस्या भएको बताए । ‘दरबन्दीअनुसारको चिकित्सक नभएपछि सेवा प्रभावित हुनु स्वाभाविक हो,’ उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य विभागमा पटक–पटक लिखित र मौखिक रूपमा चिकित्सक पठाइदिन आग्रह गर्दासमेत ५ वर्षदेखि दरबन्दी रिक्त छ ।’

विभाग र मन्त्रालयले दरबन्दीअनुसारको चिकित्सक नपठाएपछि अस्पताल विकास समितिबाट ५ जना रेडियोलोजिस्ट नियुक्त गरेर सेवा सञ्चालन हुँदै आएको थियो । तर ३ जनाले राजीनामा दिइसकेका डा. यादवले बताए । ‘दुई जनामध्ये डा. अंशु श्रेष्ठ शुक्रबार बिदामा गएपछि डा. राजा सुवाल एक्लैले रेडियोलोजी विभाग सम्हाल्दा सेवा सुस्त भएको हो,’ उनले भने ।सेवाग्राही आन्दोलनमा उत्रिएपछि डा. सुवाललाई तत्काल बोलाएर अहिलेको समस्या समाधान गरेको डा. यादवको भनाइ छ । तर दरबन्दीअनुसारको चिकित्सक नआएसम्म समस्या जस्ताको त्यस्तै रहने उनले बताए ।

Inside Article Ads

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.