
काठमाडौँ — १९ श्रावण २०७८
काठमाडौँ, त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षा स्थगित गरेको छ । आयोगले आगामी भदौ १५ गतेबाट परीक्षा हुने तालिका सार्वजनिक गरेको थियो ।‘भदौ १५ गतेदेखि सञ्चालन गरिने लिखित परीक्षा आयोगको निर्णयबमोजिम विशेष कारणवश स्थगित गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोग प्रमुख केदारनाथ ढकालले विज्ञप्तिमा भनेका छन् । कोभिड–१९ महामारीका कारण तत्काल परीक्षा स्थगित गरिएको जनाइएको छ ।आयोगले यसपालि सबैभन्दा बढी व्यवस्थापन संकायमा शिक्षण जनशक्ति माग गरेको थियो । व्यवस्थापन संकायतर्फ जनप्रशासन र व्यवस्थापन विषयमा ८३ पदमा आवेदन आह्वान गरिएको थियो ।
विभिन्न संकाय र अध्ययन संस्थाअन्तर्गत ५ सय ८० पदमा दरखास्त आह्वान गरिएको थियो । आयोगबाट प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै चिकित्साशास्त्रअन्तर्गत ४० विषयमा ५५ पद खुला गरिएको थियो । मानविकी तथा सामाजिक शास्त्रअन्तर्गत २४ विषयका निम्ति १ सय ३ पद खुला गरिएको थियो । सबैभन्दा धेरै अंग्रेजी विषयमा २५, नेपालीमा ८, अर्थशास्त्रमा १५ र समाजशास्त्रको १२ पदमा आवेदन खुलाइएको थियो ।
यस्तै, वनविज्ञानमा ३ विषयका निम्ति तीन पदमा आवेदन खुला गरिएको थियो । विज्ञान तथा प्रविधितर्फ १५ विषयका निम्ति १ सय ६८ पद खुला गरिएको थियो । शिक्षाशास्त्रतर्फ १६ विषयका निम्ति ७४ पद खुला गरिएको थियो ।त्रिवि सेवा ऐनअनुसार डिन कार्यालय र संकाय बोर्डले विषयको आवश्यकता पुष्टि गरी दरबन्दी सिर्जना गर्दछ । उपकुलपतिको अध्यक्षता रहने एकेडेमिक काउन्सिलले सिफारिस गरेपछि त्रिवि कार्यकारी परिषद्ले सेवा आयोगलाई विज्ञापन गर्न अनुमति दिन्छ ।
(कान्तिपुर दैनिक)
