
जुम्ला — १९ श्रावण २०७८
जुम्ला, जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्याएसँगै खलंगासहित आसपासका गाउँका दुई हजार एक सय घरमा एकैसाथ बिजुली बलेको हो ।घुघुतिस्थित साना जलविद्युत् आयोजनाले वितरण गरेको विद्युत् लाइनमा राष्ट्रिय प्रशारण लाइन जोडिएको हो । घुघुतिबाट उत्पादित विद्युत् नियमित नहुँदा जुम्लावासी दैनिक १५ घण्टे लोडसेडिङ भोग्न बाध्य थिए ।
सबै साना जलविद्युत् आयोजनाको विद्युत् केन्द्रित गरी बिजुलीको दिगो समाधान निकालिने कर्णाली प्रदेशका सिचाइँ विकास तथा ऊर्जामन्त्री दिनबन्धु श्रेष्ठले बताए । ‘वर्षौंदेखिको सास्तीबाट उपभोक्ताले बल्ल मुक्ति पाएका छन्,’ उनले भने, ‘अब गाउँगाउँमा विद्युत् विस्तारलाई तीव्र बनाइनेछ ।’ राष्ट्रिय प्रसारण लाइनसँग जोडिएपछि स्थानीय पनि खुसी छन् । अब जुम्लामा अन्य पूर्वाधार विकासको ढोका खुलेको कमल देवकोटाले बताए । ‘२४ सै घण्टा विद्युत् आपूर्ति भए स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना हुनेछन्,’ उनले भने ।
(कान्तिपुर दैनिक)
