
काठमाडौँ – १९ श्रावण २०७८
काठमाडौँ, दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताए । उनले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने बताए । प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।
उनले भने,‘हामी आफैंले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन । छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौं । र त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडी बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिवद्ध रहेको म मान्यज्यूहरुलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु ।’
