
सिन्धुली — १४ श्रावण २०७८
सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा मुलुककै पहिलो युद्ध संग्रहालय निर्माण भएको छ । संग्रहालयको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । सिन्धुलीगढीमा नवनिर्मित युद्ध संग्रहालय । संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी छन् । र
६ हजार २८१ स्क्वायर फुटको ६ कोठे संग्रहालयमा तत्कालीन समयमा गोर्खाली सेना र अंग्रेज फौजबीच सिन्धुलीगढीमा भएको युद्धको झल्को दिने सामग्रीहरू राखिएको छ । गढीको सामरिक महत्त्व प्रदर्शन गर्न सकिने थिएटर, त्यसबेलाको सेनाले प्रयोग गरेका घरेलु हातहतियार पनि संग्रहालयमा छन् । युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाले लगाएको पोसाकलगायत सामग्रीको संग्रह गरिएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुना सिन्धुलीगढी युद्ध संग्रहालय भएको बताइन् । यसले देशका अन्य स्थानका ऐतिहासिक धरोहरको संरक्षण र पुनर्निर्माणका लागि समेत प्रेरणा प्रदान गरेको उनको भनाइ थियो । ‘वीरपुर्खाहरूले आफ्नो देशको रक्षाका लागि के कस्ता बहादुरीपूर्ण भूमिका निर्वाह गरेका थिए भन्ने तथ्य र शिक्षा भावी पुस्तालाई हस्तान्तरण भएको छ,’ उनले भनिन् । ऐतिहासिक परिवेशबाट समग्र राष्ट्रलाई अभिप्रेरित गर्न सिन्धुलीगढी युद्ध संग्रहालयको महत्त्वपूर्ण योगदान हुने उनले बताइन् ।
कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संग्रहालय इतिहास संरक्षणमा कोसेढुंगा सावित हुने धारणा राखे । संग्रहालयको परिसरमा योद्धाहरू श्रीहर्ष पन्त, वंशु गुरुङ, वंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा अनावरण गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले संग्रहालयको प्रतिमा कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीलाई हस्तान्तरण गरेका थिए ।
