Fast Nepal News

सीमावर्ती नेपालीलाई चीनद्वारा खाद्यान्न

banner single news

ताप्लेजुङ — १४ श्रावण २०७८

ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका तेन्जिङ वालुङलाई अब एक वर्षका लागि खाद्यान्न अभाव हुनेछैन । उनले चीनको डिङजे काउन्टीले दिएको खाद्य सामग्री ल्याएर भण्डारण गरिसकेका छन् ।वडा कार्यालयको कर्मचारीसमेत रहेका तेन्जिङले चामल ८०, मैदा ७५, चिनी २०, दूध पाउडर १६, नुन २५, चियारङ ८, चम्बा (खाने पिठो) १० किलो र खाने तेल ४० लिटर सहयोग पाएका हुन् । घरको दोस्रो तलामा गोदाम गरेको उक्त सामग्रीले वर्ष दिनसम्म आरामले पुग्न उनले बताए ।

उक्त सहयोग तेन्जिङसहित फक्ताङलुङ–७ ओलाङचुङगोला र याङमा तथा वडा ६ लेलेपको फले र घुन्साका स्थानीयले सोही परिमाणमा पाएको वडा ७ का वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । नजिक भएकाले गोला र याङमाका सबैले सामग्री घरमा पुर्‍याइसकेका छन् भने फले र घुन्साकाले खाद्य सामग्री नेपाल र चीनको सिमाना टिप्ताला भन्ज्याङदेखि तीन घण्टा तल रहेको मौवाटारमा गोदाम गरेर राखिएको छ । कञ्चनजंघा संरक्षण क्षेत्रको कार्यालयमा गोदाम गरेर ताला लगाएर राखिएको भोटेले बताए । ‘दुई बस्तीकालाई समिति बनाएर आउनु र सामान बुझेर गाउँमा लैजान भनेका छौं,’ वडासदस्य टासी शेर्पा भोटेले भने, ‘उहाँहरूले मौसम खुलेर सफा भएपछि चौंरी लिएर आउँछौं भन्नुभएको छ ।’

तिब्बती शरणार्थीको मात्रै बसोबास रहेको फले र नेपाली मात्रैको बसोबास रहेको घुन्साका बासिन्दालाई उक्त राहत सामग्री गाउँमा पुर्‍याउन कम्तीमा तीन दिन लाग्छ । चौंरीलाई बोकाएर जंगलको बाटो ल्याउनुपर्ने हुन्छ । सिमानाबाट मौवाटारसम्म सामान झार्न १ सय ५० वटा चौंरीलाई तीन दिन लागेको वडाका कर्मचारी तेन्जिङले बताए । तिब्बतले यसअघि गोला र याङमाका बासिन्दालाई मात्रै सहयोग गर्दै आएको थियो । तर ओलाङचुङगोलाका जनप्रतिनिधिको अनुरोधमा घुन्सा र फलेका बासिन्दालाई पहिलो पटक सहयोग दिएको हो ।

गोलामा रहेको नेपाल प्रहरीलाई १० किलोको ४० बोरा चामल दिएको पनि वडाले जनाएको छ । प्रहरीका लागि तेल, बिस्कुट, पेय पदार्थलगायत सामग्री छुट्टै पठाएको थियो । यहाँ कार्यरत शिक्षक र स्वास्थ्य चौकीका कर्मचारीलाई पनि यत्तिकै परिमाणमा सामग्री दिएको वडाले बताएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षाबलले भने सामग्री लिन अस्वीकार गरेको छ ।

Inside Article Ads
‘उहाँहरू (सशस्त्र प्रहरी) ले चाहिँ हामीलाई सरकारले दिएको छ लिन मिल्दैन, लिँदैनौं भन्नुभयो,’ वडाध्यक्ष भोटेले भने । गोला र याङमामा गरी १ सय ८२ जना तथा घुन्सा र फलेमा १ सय ४३ जनाले राहत सामग्री लिए । वडाका अनुसार यस वर्ष १९ हजार ६ सय ५० किलो चामल, ७ हजार १ सय ३५ लिटर तेल, २५ किलोको ४ सय ९२ बोरा पिठो, दूध पाउडर १ सय ३४ कार्टुन उपलब्ध गराएको छ । यस्तै ८ किलोको १ सय ३० कार्टुन चियापत्ती, २५ किलोको नुन ८० बोरा र १६ किलोका १ सय ३० बोरा दिएको छ ।

नेपाली व्यापारीले सामानबापतको पैसा सिमानामै पुर्‍याइदिनुपर्ने द्विपक्षीय सहमति छ । सीमावर्ती यी चारवटै बस्तीका बासिन्दाले चीन सरकाले दिएको अनुदानको खोप पहिलो चरणको लगाएको वडा कार्यालयले जनाएको छ । चीनले ५० लाख नेपाली बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराएको थियो ।

(कान्तिपुर दैनिक)

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.