
सिन्धुली — १३ श्रावण २०७८
सिन्धुली, जिल्लामै पहिलो पटक ग्रामीण सडकको कालोपत्र गर्न विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने प्रविधि ‘अस्फाल्ट कंक्रिट’ प्रयोग गरिएको छ । मेलङ गाउँपालिकाको पवटीदेखि भेडपुसम्मको १२ किमि सडक यो प्रविधिबाट कालोपत्र गरिएको हो ।स्थानीय पूर्वाधार विभागअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर पारस पाण्डे भन्छन्, ‘अन्य प्रविधिभन्दा यो प्रविधि केही महँगो हुन्छ तर वर्षौंसम्म कालोपत्र टिक्छ ।’
यी सबै सडक ग्रामीण सडक सञ्जाल सुधार आयोजानाअन्तर्गत कालोपत्र भएको हो । ‘सडक कालोपत्रे गर्ने प्रविधिमध्ये मँहगो प्रविधि प्रयोग गरेर सडक कालोपत्र भइरहेको हो,’ उनी भन्छन्, ‘सामान्यतया अस्फाल्ट कंक्रिट प्रविधिको प्रयोग धेरै गाडी गुड्ने सडकमा गरिन्छ । धेरै भार थेग्ने र वर्षौं टिकाउ पनि हुन्छ ।’
आयोजनाले पहिलो पटक कार्यक्षमतामा आधारित मर्मतसम्भारसमेत लागू गरेको छ । जसअन्तर्गत कालोपत्र गरिएको ३ वर्षसम्म उक्त सडकको मर्मतसम्भार पनि निर्माण कम्पनीले नै गर्नुपर्ने हुन्छ । अन्य प्रविधिका हकमा कालोपत्र गरिएपछि एक वर्ष मात्रै निर्माण कम्पनीले रेखदेख गर्नुपर्ने नियम छ । अस्फाल्ट कंक्रिट प्रविधिबाट कालोपत्र गर्ने निर्माण कम्पनीसँग आफ्नै प्लान्ट हुनुपर्ने सर्तसमेत आयोजनालेराखेको छ ।
(कान्तिपुर दैनिक)
