चितवन — १३ श्रावण २०७८
चितवन , कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लागेपछि चितवन राष्ट्रिय निकुञ्ज वरपरका मध्यवर्ती सामुदायिक वनमा मध्य वैशाखदेखि बन्द भएको जंगल सफारीलगायतका पर्यटकीय गतिविधि मंगलबारबाट पुनः सुरु भएको छ । पर्यटकहरू वन्यजन्तु हेर्न हात्ती सफारी र जिप सफारी गर्छन् । खोलाहरूमा डुंगा चढ्ने गर्छन् । निकुञ्जभित्र भने तत्काल पर्यटकीय कार्यक्रमहरू सुरु हुने छैनन् ।‘आज (मंगलबार) पहिलो दिन हो ।
बिहान एउटा र दिउँसो एउटा हात्ती सफारी भयो । डुंगा चढ्न पनि २०/२५ जना आए,’ बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितबहादुर तामाङले भने । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्ने–गराउने गरी पर्यटकीय गतिविधि सुरु गरेको उनले बताए । सौराहा आडको यो वन हात्ती सफारी र डुंगा सफारीका लागि प्रख्यात छ । सौराहादेखि केही परको कुमरोज मध्यवर्ती सामुदायिक वनमा पनि हात्ती र जिप सफारी सुरु भएको छ ।
‘बर्खायाममा निकुञ्जभित्र पर्यटक डुलाउन सकिँदैन । निकुञ्जभित्र हात्ती सफारी हुँदैन । जिप सफारीका लागि बाटो बिग्रेको हुन्छ । पैदल जंगल डुल्दा यो बेला झाडी बढेको छ । यस्तोमा डुल्नु खतरा हुन्छ,’ अधिकारीले भने ।