दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।
यस चलचित्रमा यसअघि खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । चलचित्रमा केकी र उपासना कसको अपोजिटमा हुनेछन् भन्ने स्पष्ट भएको छैन ।
यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको चलचित्र उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा चलचित्र बन्न लागेको हो ।
चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । चलचित्रमा सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । चलचित्र २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।