
नेपाली चलचित्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।
उनी निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल चलचित्रमा अनुबन्धित भएका हुन् ।
आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको चलचित्रमा अनुबन्धित भएको जानकारी दिएका छन् ।
सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’ पछिल्लोपटक चलचित्र ‘सकुन्तला’मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि चलचित्रमा देखिएका थिएनन् । बरु उनले म्युजिक भिडियोमा आफूलाई समय दिइरहेका थिए । एक्सन प्रधान रहने चलचित्रमा हमालले झन्डै ८ वर्षपछि कमब्याक गर्ने भएका हुन् ।
आगामी भदौ महिनाबाट छायांकनको तयारी गरिएको चलचित्रको नाम केही दिनमा घोषणा गरिने निर्माण पक्षको भनाइ छ ।
निर्देशक भट्टराईले चलचित्रको कथावस्तु मनपराएपछि हमाल आफ्नो चलचित्रमा अभिनयका लागि तयार भएको बताएका छन् ।

