
गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त छन् ।
निर्देशकका रुपमा उनले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका थिए । उक्त चलचित्रको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि चलचित्रको छायाँकन सुरु हुने उनले जानकारी दिएका छन् ।
“अहिले छायाँकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पुर्याउने लगायत प्रि–प्रडक्सनको काम भइरहेको छ”, सपूतले भने, “चलचित्रको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।” चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।
उनले आफ्नो फेसबुकमा केही दिनअघि लेखेका थिए, “चलचित्र
‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।”
सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाएका थिए । ‘वसन्त’मा पनि उनी आफैं मुख्य पात्रका रुपमा देखिँदैछन् । ‘परदेशी २’ को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उनको भनाइ छ । सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् ।
