
नाटक ‘हिटलर आउँदैछ’ मार्फत अभिनेत्री वर्षा राउतले नाटकमा डेब्यु गर्ने भएकी छिन्।
उनले काम गरेका ‘जात्रा’, ‘महाजात्रा’, ‘छक्का पञ्जा’, ‘के घर के डेरा’ लगायत दर्जनौं चलचित्र हिट भइसकेका छन् । उनलाई नयाँ चलचित्रको पनि अफर रहेको बताइन्छ ।
यसबीचमा उनी नाटकका लागि भन्दै अमेरिका उडेकी छन् । ओहायो राज्यस्थित एक्रोन सिभिक थिएटरमा मञ्चन हुन गइरहेको नाटक ‘हिटलर आउँदैछ’ को लागि उनी त्यहाँ गएकी हुन् । विमल सुवेदीले निर्देशन गरेको नाटक आगामी भदौ २३ गते वर्ल्ड प्रिमियर गरिँदैछ । अहिले यसको वर्कशप चलिरहेको छ ।
मान्छे नाटकबाट चलचित्रमा जाने सपना देख्छन्, तपाईं चाहीँ चलचित्रबाट नाटकमा किन रु’ भन्ने प्रश्नमा वर्षा भन्छिन्, ‘मलाई नाटकमा खेल्ने र सिक्ने चाहना पहिल्यैदेखि हो, नाटकबाट उदाएका कलाकारको अभिनयको तुलनामा हाम्रो काम फिक्का हुन्छ, अहिले नाटक गर्ने मौका पाएँ, यो मेरो लागि ठूलो अवसर हो।’
नाटकलाई नेपाल र भारतमा पनि मञ्चन गरिने भुटनिज कम्युनिटी एसोसिएनका उपाध्यक्ष तथा नाटकका एक पहलकर्ता आकाश खतिवडाले बताएका छन् ।अमेरिकाको ह्याप्पी होम स्टुडियोजको निर्माण रहेको नाटकमा थिएटर भिलेज नेपाल, भुट्निज कम्युनिटी एसोसिएसन एक्रोनको सहकार्यमा छ ।
