
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले घरेलू बक्सअफिसमा सुखद् सुरुवात गरेको छ ।
अनिल बुढा मगरेको निर्देशित डेव्यु चलचित्रले पहिलो दिन नै उत्कृष्ट सुरुवात गरेको हो । शुक्रबारका बिहानी शोमा वर्षाले असर गरेपनि दिउँसोका शोमा देशभर नै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी ओगट्न सफल भएको थियो ।
वितरक रोहित कट्टेल र रत्न श्रेष्ठले देशभरका विभिन्न हलमा हाउसफुल भएको र दर्शकको राम्रो साथ देखिएको बताएका छन् ।
शुक्रबार काठमाडौं उपत्यका र मोफसलमा पूर्वी नेपाल अनि पश्चिम नेपालमा बिशेषगरी दाङ, बुटवल, नेपालगञ्ज लगायतका ठाउँमा दर्शकको राम्रो साथ मिलेसँगै केही हलले चलचित्रको शोमा बढोत्तरी समेत गरेका छन् भने शुक्रबार दिउँसो चलचित्रको टिम काठमाडौंका केही हाउसफुल हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
दोस्रो दिन शनिबार विहान देखिनै उपत्यकाका केही हल हाउसफुल भएका छन् । देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सको पुल्चोक स्थित लबिम मलको हल, सुनधारा स्थित सिभिल महल, भक्तपुरको भाटभटेनीमा रहेको हलमा दर्शकको उपस्थित उच्च देखिन्छ । अनलाई टिकेटिङ्ग साइट खोलेर हेर्दा अधिकांश शोमा दर्शकको चाप देखिन्छ ।
