विवादमा आएको टेलिभिजिन शो ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले उक्त कार्यक्रममाथि टिप्पणी गरेका छन्।
लामो समयदेखि आफूले निर्माण एवम् सञ्चालन गर्दै आएको उक्त शो ओसिन सिटौलाले सञ्चालन गरेको पहिलो एपिसोड नै विवादमा तानिएपछि उनले टिप्पणी गरेका हुन्।
‘मैले निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भयो, ‘ सुरजले सामाजिक सञ्जालमा लेखेका छन्। साथै उनले आफूलाई दर्शकहरूले वर्षौंदेखि देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन्। अबका दिनमा अझै रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धतासमेत उनले जनाएका छन्।
यतिबेला कार्यक्रमकी प्रस्तोता ओसिन सिटौला र अभिनेत्री स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चौतर्फी विरोध भइरहेको छ। कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर उनीहरूको चर्को आलोचना भइरहेको हो।
कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको सुरजले टिप्पणी गरेका छन्। यसका साथै उनले कान्तिपुर टिभी र ‘इट्स माइ शो’सँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि उनले स्पष्ट पारेका छन्।
‘ म स्पष्ट गर्न चाहन्छु, म अब कुनैपनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा’, उनले लेखेका छन्।
यता, कार्यक्रमका गेस्ट स्वस्तिमा र साम्राज्ञीले सम्बन्धित व्यक्तिसँग माफी मागिसकेका छन्। कार्यक्रम प्रस्तोताको भने कुनै प्रतिक्रिया आएको छैन।