Fast Nepal News

नेपालमै अक्सिजन सिलिन्डर उत्पादनको प्रस्ताव

banner single news

काठमाडौँ — ११ जेष्ठ

काठमाडौँ , नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को अगुवाइमा नेपालमै तयार पारिएको अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादनका लागि विभिन्न व्यावसायिक घराना र उद्योगले प्रस्ताव राखेका छन् ।

अक्सिजन सिलिन्डरको दोस्रो चरणको परीक्षण बाँकी छ । तर परीक्षण सफल भए व्यावसायिक रूपमा अक्सिजन सिलिन्डर उत्पादन गर्न विभिन्न उद्योग र व्यावसायिक घरानाले प्रस्ताव राखेको नास्टका फ्याकल्टी प्रमुख रवीन्द्र ढकालले बताए ।

‘पहिलो चरणको सिलिन्डर परीक्षणमा आंशिक सफलता हासिल गरेका छौं,’ उनले भने, ‘केही दिनमै दोस्रो चरणको परीक्षण गर्ने तयारी छ ।’ नास्टले पहिलो चरणमा गरेको परीक्षणमा अक्सिजन सिलिन्डरले आवश्यक चाप थेग्न सक्ने प्रमाणित भएको थियो । परीक्षणका क्रममा सिलिन्डरमा राखिएको भल्भ लिकेज भएको थियो ।

पहिलो चरणमा एउटा मात्रै सिलिन्डरको प्रोटोटाइप तयार पारी परीक्षण गरिएकोमा दोस्रो चरणमा भने तीन वटा सिलिन्डरको प्रोटोटाइप तयार पारिने ढकालले जानकारी दिए । ‘एउटा मात्रै सिलिन्डर परीक्षण गरेर विश्वसनीय हुँदैन,’ उनले भने, ‘दोस्रो चरणको परीक्षणका लागि थप तीन वटा सिलिन्डरको प्रोटोटाइप तयार हुँदै छ ।’

सबै चरणको परीक्षण सफल भएपछि निजी क्षेत्रलाई पनि अक्सिजन सिलिन्डर उत्पादनका लागि स्पेसिफिकेसन उपलब्ध गराउने नास्टको तयारी छ । कोभिड–१९ को संक्रमण बढेका बेला देशभर अक्सिजन सिलिन्डरको अभाव भएपछि नास्टले सिलिन्डर तयार पारी परीक्षण गरेको हो । अक्सिजन सिलिन्डरले १ सय ५० केजी प्रतिवर्गसेन्टिमिटर चाप (प्रेसर) खेप्नुपर्ने मापदण्ड छ । नास्टले गरेको परीक्षणका क्रममा नेपालमा तयार पारिएको अक्सिजन सिलिन्डरको प्रोटोटाइपले २ सय ३५ प्रतिवर्गसेन्टिमिटरसम्म चाप धानेको थियो ।

Inside Article Ads

सिलिन्डरले आवश्यकभन्दा बढी चाप खपे पनि परीक्षणका क्रममा यो आंशिक सफलता भएको सिलिन्डर उत्पादन र परीक्षणको नेतृत्व गरिरहेका नास्टका वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले बताए । नास्टले सुरुमा एलपीजी ग्यास सिलिन्डरमा अक्सिजन राख्न सकिने विकल्पमा अध्ययन गरेको थियो । तर प्राविधिक हिसाबले सम्भव नभएपछि अक्सिजन सिलिन्डरको छुट्टै प्रोटोटाइप तयार पारिएको थियो । एलपीजी ग्यासको सिलिन्डरले १५ केजी प्रतिसीएम स्क्वायार मात्रै प्रेसर खप्न सक्ने भएकाले प्राविधिक रूपमा यो सम्भव नभएको ढकालको भनाइ छ ।

नेपालमा आयात भइरहेको सिलिन्डरकै स्वरूपमा नास्टले ६ एमएम बाक्लो फलाम प्रयोग गरेर सिलिन्डरको प्रोटोटाइप तयार पारेको हो । अक्सिजन सिलिन्डर निर्माणको काममा नास्टका वैज्ञानिक र प्राविधिकसहित निजी क्षेत्रका उद्योगी पनि संलग्न छन् । सुरुमा ग्यास सिलिन्डरको प्रेसर मापनका लागि नेपालमा रहेका ग्यास उद्योगमा भएको ल्याब प्रयोग गर्ने भनिए पनि प्राविधिक रूपमा असम्भव भएपछि नास्टले आफ्नै ल्याब तयार पारेको छ ।

‘हामीले परीक्षण गरिसकेपछि अन्य उद्योगले उत्पादन गर्न सक्ने गरी यसको डिजाइन स्पेसिफिकेसन उपलब्ध गराउँछौं,’ उनले भने, ‘परीक्षण सकिएपछि अन्य उद्योगले हामीले दिएको विवरणअनुसार उत्पादन गर्न सक्छन् ।’ नास्टका वैज्ञानिक ढकालसहित निजी क्षेत्रका प्रतिनिधि सुजन श्रेष्ठ, कृष्ण ढकाल, पूर्णराज सुवेदी, गौतम अर्यालको प्रत्यक्ष संलग्नतामा अक्सिजन सिलिन्डरको प्रोटोटाइप तयार पारिएको हो ।

( आजको कान्तिपुर दैनिकमा )

Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.