Fast Nepal News

दुई दशक बित्दा पनि नेपालको आर्थिक कूटनीति कमजोर

विभिन्न देशसँग सम्बन्ध विस्तार भइरहे पनि नेपालले आर्थिक रूपमा फाइदा लिन सकेको छैन, यसका दुई उदाहरण हुन्– हरेक वर्ष बढ्दो व्यापार घाटा र नेपालमा विदेश लगानी आकर्षित नहुनु

banner single news

१२ बैशाख,काठमाडौँ-नेपालको आर्थिक कूटनीतिको यात्रा दुई दशक पुगेको छ । यस अवधिमा नेपालको कूटनीतिक सम्बन्ध १७८ मुलुकसँग विस्तार भइसकेको छ । तर नेपालको आर्थिक कूटनीतिले अपेक्षित गति लिन सकेको छैन ।

नेपालले ०५० सालदेखि आर्थिक कूटनीतिलाई पनि परराष्ट्र मामिलाको एउटा महत्त्वपूर्ण अंगका रूपमा ठम्याएको थियो । तर त्यसको दुई दशकपछि पनि नेपालको आर्थिक कूटनीतिले फड्को मार्नुपर्ने बेला यसको कछुवा गति कायमै छ ।

 

देशसँगको सम्बन्धमा विस्तार भइरहे पनि नेपालले आर्थिक रूपमा फाइदा लिन भने सकेको देखिन्न । त्यसका उदाहरण हुन्, हरेक वर्ष बढ्दो व्यापार घाटा र नेपालमा विदेश लगानी आकर्षित नहुनु । नेपालको अर्थतन्त्र अझै पनि राजस्व, रेमिट्यान्स र विदेशी दाताको सहयोग (ऋण र अनुदान) मा निर्भर छ । हुन त गत एक वर्षमा परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना विभिन्न मिसनमा आर्थिक कूटनीतिसम्बन्धी १४० कार्यक्रम गरेको तथ्यांक छ । दुई दशकमा नेपालको आर्थिक कूटनीति औपचारिकतामा मात्र सीमित भएको पूर्वउद्योग सचिव चन्द्र घिमिरे बताउँछन् । ‘हामी एक्सनमा एकदमै कम छौं । आर्थिक कूटनीति सञ्चालन गर्न जसरी नेपालका कूटनीतिक मिसन परिचालन हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ उनले टिप्पणी गरे । एकातर्फ नेपालले आर्थिक कूटनीतिलाई महत्त्व दिएको छैन भने अर्कोतिर आवश्यक गृहकार्य गर्न स्रोत र साधनको उपलब्धता पनि गराएको छैन । ‘स्रोतसाधन नभएपछि लक्ष्य प्राप्त गर्न सकिन्न । सरकारले लक्ष्यसहित स्रोतसाधनमा पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

सरकारले ०५० सालमा परराष्ट्र मन्त्रालयमा नीति, योजना र आर्थिक विश्लेषण शाखा स्थापना गरेको थियो । यसले नेपालले आर्थिक कूटनीतिमा पनि कदम चाल्न खोजेको संकेत दिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयलाई सक्रिय, सशक्त र प्रभावकारी बनाउने उद्देश्यले पूर्वपरराष्ट्र सचिव तथा राष्ट्रिय सभाका तत्कालीन सांसद उद्धवदेव भट्टको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले ०५२ माघ २४ मा प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनले परराष्ट्र मन्त्रालयबाट आर्थिक कूटनीति सञ्चालनका लागि विशेष सचिवको नेतृत्वमा आर्थिक सम्बन्ध र समन्वय महाशाखा स्थापना गर्न सिफारिस गरेको थियो ।

Inside Article Ads

यस प्रतिवेदनसँगै नेपालमा आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको एक अंगका रूपमा ग्रहण गरियो । ‘अहिले आर्थिक कूटनीति समग्र परराष्ट्र सम्बन्धको महत्त्वपूर्ण पक्षका रूपमा स्थापित भएको छ । आर्थिक कूटनीतिलाई नै विदेश नीतिको केन्द्रबिन्दु बनाउनुपर्छ भन्ने आवाज घनीभूत बन्दै गएको छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा आर्थिक कूटनीति सञ्चालनका लागि विशेष सचिवको नेतृत्वमा आर्थिक सम्बन्ध र समन्वय महाशाखा स्थापनाका लागि सिफारिस गरे पनि दुई दशक हुन लाग्दासमेत कार्यान्वयन भएको छैन ।

समाचार आजको कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.