Fast Nepal News

बैंक निक्षेप जीडीपीभन्दा १३ प्रतिशत बढी

banner single news

काठमाडौँ — ५ मंसिर २०७८

काठमाडौँ, गत असोजसम्म वित्तीय प्रणालीमा रहेको कुल निक्षेप अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा १३ प्रतिशतले नाघेको छ । यसलाई विज्ञहरूले मुलुकको आर्थिक गतिविधिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर उच्च भएको रुपमा विश्लेषण गरेका छन् । वित्तीय क्षेत्रको वृद्धि राम्रो भए पनि अर्थतन्त्रको वृद्धिदरभन्दा उच्च रहेकाले जोखिमको सम्भावना पनि उत्तिकै रहेको उनीहरूले औंल्याएका छन् । यस्तो अवस्थामा नीति निर्माताले संयमित रूपमा नीति निर्माण गर्नुपर्ने विज्ञहरूको सुझाव छ । जीडीपीको अनुपातमा निक्षेप सय प्रतिशत नाघ्नुले समग्र अर्थतन्त्रको वृद्धिभन्दा वित्तीय क्षेत्रको वृद्धिदर धेरै भएको पुष्टी हुने राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए । यस्तो अवस्थामा वित्तीय क्षेत्रमा कुनै जोखिम आए त्यसको ठूलो असर अर्थतन्त्रमा पर्ने उनको विश्लेषण छ । ‘वित्तीय क्षेत्रको वृद्धिदर उच्च हुनु राम्रो हो,’ उनले भने, ‘सोहीअनुसार अर्थतन्त्रको वृद्धि हुन सकेन । यसकारण जोखिमको सम्भावना पनि त्यत्तिकै छ ।’

यस्तो अवस्थामा वित्तीय प्रणालीमा रहेको रकमबाट पुँजी निर्माण हुन सक्दैन । यसकारण नीति निर्माताले नीति बनाउँदा यी कुरामा हेक्का राख्नुपर्ने राष्ट्र बैंकका एक उच्च अधिकारीको भनाइ छ । ‘वित्तीय प्रणालीमा रहेको रकमलाई अर्थतन्त्रको विविधीकरणमा उपयोग गर्न सक्नुपर्छ,’ ती अधिकारीले भने, ‘रेमिट्यान्समार्फत मुलुकमा भित्रिएको रकम उत्पादनमूलक क्षेत्रमा उपयोग नभएको संकेत पनि हो यो ।’ राष्ट्र बैंकका अनुसार २०७६ असारमै वित्तीय प्रणालीमा रहेको निक्षेप सोही अवधिको जीडीपीको अनुपातमा शतप्रतिशतभन्दा केही धेरै थियो । गत असारमा आइपुग्दा यस्तो अनुपात बढेर जीडीपीको १ सय ११ प्रतिशत कायम भएको थियो । यही क्रममा गत असोजसम्म जीडीपीको निक्षेप अनुपात १ सय १३.३१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असारमा मुलुकको जीडीपी ४२ खर्ब ६७ अर्ब ३२ करोड रुपैयाँ रहेको केन्द्रीय तथ्यांक विभागको तथ्यांक छ । गत आर्थिक वर्षका सबै महिनामा पनि जीडीपीको अनुपातमा निक्षेप सय प्रतिशतभन्दा धेरै थियो ।  

कोभिडको जोखिमबाट बच्न गरिएको पहिलो र दोस्रो चरणको निषेधाज्ञाका कारण करिब चारपाँच महिना बैंकहरूको अत्यावश्यकबाहेक काम भएन । त्यसपछि खुलेको अवधिमा पनि बैंकिङ क्षेत्रको कर्जा उल्लेख्य बढ्यो । गत आर्थिक वर्षमा मात्र बैंक तथा वित्तीय संस्थाले करिब ८ खर्ब रुपैयाँ थप कर्जा विस्तार गरेको राष्ट्र बैंकको तथ्यांक छ । यो गत आर्थिक वर्षमा राष्ट्र बैंकले तय गरेको गरेको कर्जा विस्तारको वार्षिक लक्ष्यभन्दा करिब ८ प्रतिशत बढी हो । जीडीपीको अनुपातमा बैंक तथा वित्तीय प्रणालीमा रहेको निक्षेप धेरै हुनु वित्तीय प्रणाली बलियो रहेको संकेत भएको राष्ट्र बैंकले बताएको छ । विगतका तुलनामा वित्तीय पहुँच र वित्तीय साक्षरता बढेकाले यो अवस्था आएको हो । हाल ७ सय ५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगिसकेका छन् । वित्तीय साक्षरता बढेकाले बैंकिङ बानी पनि बढेको छ । वित्तीय पहुँच बढेपछि गाउँगाउँमा छरिएर रहेको रकम वित्तीय प्रणालीमा आएकाले बैंक तथा वित्तीय प्रणालीमा निक्षेप र कर्जा प्रवाह दुवै उल्लेख्य रूपमा बढेको राष्ट्र बैंकको निष्कर्ष छ । यद्यपि पछिल्ला महिनाहरूमा कर्जा विस्तार उच्च रहेकाले सो अनुपातमा निक्षेप संकलन हुन सकेको छैन ।

Inside Article Ads

जीडीपीको आकारभन्दा वित्तीय क्षेत्र (निक्षेप तथा कर्जा) आकार ठूलो हुनुले अर्थतन्त्रमा वित्तीय क्षेत्रको प्रभुत्व धेरै रहेको देखाउने विज्ञहरू बताउँछन् । यसको अर्थ नागरिकको आय आर्जन हुने आर्थिक गतिविधि, रोजगारी सिर्जना, उत्पादनलगायत वास्तविक क्षेत्र छायामा परेको भन्नु हो । वित्तीय क्षेत्रमा रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा उपयोग हुन नसक्दा यस्तो अवस्था आउने उनीहरूको विश्लेषण छ । ‘यसलाई विकास निर्माणमा रकम उपयोग हुन सकेन, विकास निर्माण पछि पर्‍यो भन्ने रूपमा बुझ्न सकिन्छ,’ एक विज्ञले भने, ‘यस्तो अवस्थामा सेयर बजार घरजग्गालगायत क्षेत्रमा पुँजी प्रवाह धेरै हुन्छ ।’ जीडीपीको अनुपातमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह पनि निरन्तर बढिरहेको छ । सोही क्रममा गत असोजसम्म १ सय ५.४२ प्रतिशत पुगेको छ । गत असारमा यस्तो अनुपात करिब ९३ प्रतिशत थियो । पछिल्ला महिनाहरूमा निक्षेपभन्दा कर्जाको वृद्धिदर धेरै छ । यसकारण पनि आउँदा महिनामा जीडीपीको अनुपातमा कर्जा धेरै हुने प्रक्षेपण गरिएको छ । यहीकारण अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न र उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

( कान्तिपुर दैनिक )

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.