Fast Nepal News

अलैंची उत्पादनमा ८०% ले ह्रास

banner single news

लमजुङ — १४ कात्तिक २०७८

लमजुङ , गत वर्ष ३ क्विन्टल अलैंची उत्पादन गरेका सोमबहादुर तामाङको बगैंचामा अहिले मुस्किलले ३४ किलो मात्र फल्यो । बेंसीसहर–१०, खाँचेका उनी मात्रै होइनन्, गुमबहादुर तामाङले पनि गत वर्ष ६ क्विन्टल अलैंची फलाएका थिए । तर अहिले ३ क्विन्टल मात्रै फलेको छ । गुमबहादुरका अनुसार पुस, माघ र फागुन, चैतमा पानी नपरेपछि फुल्न लाग्ने बेलामा अलैंचीका बिरुवा धेरै मरे । अलैंचीमा ढुसी पलाउने र मर्ने समस्या आयो । ‘अलैंची सखापै भयो । मेरो मात्रै होइन, गाउँले सबैको समस्या यस्तै हो’ उनले भने । सोमबहादुरले २५ रोपनीमा अलैंची लगाएका हुन् । सोही जग्गामा परार साल ६ क्विन्टल अलैंची फलेको सम्झँदै उनले भने, ‘त्यसपछि घट्दै गएर अहिले ३४ किलोमा झर्‍यो । नयाँ विरुवा रोपे पनि खासै राम्रो भएको छैन ।’ उनका अनुसार यसपटक गाउँभरिकै अलैंची उत्पादन करिब ८० प्रतिशत घटेको छ । गाउँमा गतवर्ष ७५ क्विन्टल अलैंची उत्पादन भएकोमा अहिले १२ क्विन्टलमा झरेको उनले बताए ।

गतवर्ष ८ क्विन्टल उत्पादन गरेका मर्स्याङ्दी–७ छिनखोलाका लालबहादुर तामाङकहाँ अहिले उत्पादन ३ क्विन्टलमा झर्ने अनुमान छ । उनले कुनै वर्ष १३ क्विन्टलसम्म अलैंची उत्पादन गरेका थिए । ‘अलैंचीले त अहिले रुँनु कि हाँसु नै बनाएको छ,’ उनले भने । ६५ रोपनीमा लगाएको अलैंचीका बूढा बिरुवा ६ महिना पानी नपर्दा सुकेको उनले बताए । अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङका अनुसार यस वर्ष अलैंचीलाई पानी चाहिने बेला खडेरी लागेकाले समस्या भएको हो । ‘अलैंचीका बोट सुके । ढुसीजन्य रोग पनि यहिबेला लाग्यो । त्यसले उत्पादन कम गरायो,’ उनले भने, ‘धेरै ठाउँमा पुराना बोट भएकाले पनि समस्या बनायो ।’ उनका अनुसार गत वर्ष लमजुङमा ३ हजार ५ सय क्विन्टल अलैंची उत्पादन भएको थियो । जिल्लामा १ हजार ५ सय हेक्टरमा अलैंची खेती गरिएको छ ।

कम उत्पादन भए पनि किसानले दसैंको आपसपासदेखि माथिल्लो क्षेत्रमा अलैंची टिप्न थालेका छन् । सुरुमा १ हजार ६ सयदेखि २ हजार २ सय मिटर उचाइका अलैंची टिप्न थालिएको र विस्तारै तल्लो क्षेत्रमा टिपिने किसानले बताएका छन । गतवर्ष प्रतिकिलो ५ सयदेखि ५ सय ५० रुपैयाँसम्म अलैंची बिक्री गरेका किसानले यस वर्ष भने ९ सयदेखि १ हजार रुपैयाँसम्ममा बेचेका छन । किसानले ५ वर्षअघि प्रतिकिलो २ हजार ४ सय रुपैयाँसम्ममा अलैंची बिक्री गरेका थिए । त्यसपछि अलैंचीको मूल्य लगातार ओरालो लाग्दै आएकोमा अहिले भने गतवर्षको तुलनामा अलैंचीको मूल्य बढेको अध्यक्ष तामाङले बताए । ‘यस वर्ष अलैंचीको मूल्यमा केही सुधार भएको छ । तर, के गर्नु ? अलैंची नै छैन,’ उनले भने ।

Inside Article Ads

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका प्रमुख दीपक अधिकारीका अनुसार जिल्लाका सबै ८ वटै स्थानीय तहमा अलैंची लगाइएको छ । ‘किसानले यस वर्ष अलैंची छैन भनिरहेका छन् । हामीले हेर्दा पनि धेरै फलेको छैन,’ उनले भने । उनका अनुसार बुढ्यौली रूख, सिँचाइ अभाव, खडेरीलगायत समस्याले अलैंचीको बोट मर्ने समस्या छ । अलैंची सेपिलो र चिस्यानयुक्त क्षेत्रमा हुने गर्छ । तल्लो क्षेत्रमा साउन्ने, जिर्मले र डम्मरशाई जातका अलैंची लगाइएको छ । माथिल्लो क्षेत्रमा रामशाई, गोलशाई, भर्लाङ्गेलगायत जातका अलैंची रोपिएको छ । जिल्लामा करिब २५ हजार अलैंची किसान रहेका र अलैंची झापाको बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।

( कान्तिपुर दैनिक )

Visited 11 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.