Fast Nepal News

दुर्गमको खाद्यान्न ढुवानीमा स्वार्थै स्वार्थ

banner single news

काठमाडौँ — २२ भाद्र २०७८

काठमाडौँ , खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आर्थिक वर्ष २०७८/७९ का लागि हवाईमार्गबाट खाद्यान्न ढुवानी गर्न साउन १५ मा टेन्डर खुलायो । नेपालगन्ज र सुर्खेत हवाई मैदानदेखि हुम्लाको सिमकोटका लागि १० हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न गरिएको टेन्डरमा ढुवानी गर्ने कम्पनी मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता हुनुपर्ने उल्लेख भएपछि वायुसेवा सञ्चालक संघ नेपालले आपत्ति जनायो । बिचौलियासँग मिलेर सिन्डिकेट गरेको संघको आरोप छ । – कम्पनीले भदौ ४ मा पुनः सूचना निकाल्दै बोलपत्र पेस गर्न मूल्य अभिवृद्धि करमा दर्ता भएका वा स्थायी लेखा नम्बर पाएका इच्छुक एयरलाइन्स कम्पनी र कार्गो एजेन्सी सहभागी हुन पाउने भन्यो । तर २०७५/७६ देखि २०७७/७८ सम्म तीन आर्थिक वर्षमा दुर्गम, पहाडी तथा हिमाली जिल्लामा १२ करोड रुपैयाँ बराबरको कार्गो ढुवानी भएको संस्थागत भुक्तानी विवरणको बैंक स्टेटमेन्ट र कार्य सम्पन्न गरेको अनुभवको कागजात हुनुपर्ने सर्त राख्यो ।  बोलपत्र खरिद गर्ने अन्तिम मिति भदौ १३, दाखिला र खोल्ने मिति भदौ १५ भनिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुनः बोलपत्र खरिद गर्ने म्याद भदौ २१, खोल्ने अन्तिम मिति भदौ २२ गते दिउँसो २ बजेसम्मलाई तोक्यो । खाद्यले केही हवाई कम्पनी र कार्गो एजेन्सीले समयावधि बढाइपाऊँ भनी निवेदन दिएको भन्दै भदौ २२ सम्मलाई म्याद थप्यो । संघले भने सीमित कार्गो एजेन्सीको स्वार्थका कारण बिनासूचना म्याद थपेको आरोप लगाएको छ । कर्मचारीहरू बिचौलियासँग मिलेको भन्दै संघले सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियारमा यससम्बन्धी उजुरीसमेत गरेको जनाइएको छ ।

उल्लिखित बुँदा केही उदाहरण मात्रै हुन् । दुर्गम जिल्लामा खाद्य ढुवानीको दायित्व पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी विवादित बन्दै गएको छ । समयमै ढुवानी नगरेको, दुर्गममा ढुवानी गर्नुपर्ने चामल सुगममा बेचेको, मिलोमतोमा ढुवानी ठेक्का गरेको आदि विषय खाद्य कम्पनीका ‘रोग’ नै हुन् । एयरलाइन्स कम्पनीको स्वार्थविपरीत भएपछि अहिले यी घटना बाहिर आउन थालेका छन् । खाद्यमा सीमित कर्मचारी र बिचौलियाको साँठगाठ रहेको संघले आरोप लगाइरहेको छ । ‘गत साउन १५ मा प्रकाशित सूचनामा भदौ १५ गते रीतपूर्वक सिलबन्दी बोलपत्रका कागजात पेस गर्ने अन्तिम म्याद र सोही दिन बोलपत्र खोलिने स्पष्ट छ । संघका सदस्य कम्पनीले तोकिएको म्यादभित्रै बोलपत्रको सूचनाबमोजिम सिलबन्दी बोलपत्र पेस गरी बोलपत्र खोलिने भनी लेखिएको समयमा जाँदा बोलपत्र खोल्ने सम्बन्धमा कुनै कारबाही भएन । प्रतिनिधिहरूलाई फिर्ता पठाई कुनै जानकारी नगराई अचानक पुनः बोलपत्र खरिद दर्ता गर्ने भनेर खाद्य कम्पनीबाट भदौ १६ मा सूचना आयो,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सूचना कानुनतः अनधिकृत छ, निर्णायक पदमा आसीन व्यक्तिहरूको कोही बिचौलिया तथा बिचौलियालाई अघि सारी आफ्नो साँठगाठ भएको कम्पनीलाई कागजात पेस गर्न थप समय दिन मौकास्वरूप हठात् एवं अनधिकृत रूपमा प्रकाशित सूचना कानुनको दृष्टिमा त्रुटिपूर्ण तथा अक्षम्य हो ।’

कार्गो बिचौलियाले आफूलाई अनधिकृत रूपमा फाइदा लिने उद्देश्यले कम्पनीका कर्मचारीसँग मिलेमतो गरेको पुष्टि भएकाले त्यस्ता कर्मचारीलाई छानबिन गरी कारबाही गर्नुपर्ने संघका महासचिव मनोज कार्कीले बताए । म्याद थप गरिएको बोलपत्रका लागि सार्वजनिक सूचना नगरिएको उनको भनाइ छ । भदौ १५ लाई अन्तिम म्याद भनिए पनि कम्पनीले १६ गते अर्को सूचना निकालेको थियो । उक्त प्रक्रिया नै गलत भएको कार्कीको दाबी छ । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दिएको समयमा समिट र तारा एयरले प्रस्ताव दर्ता गराएका थिए । तर सिम्रिक एयर कार्गोले दर्ता गरेन,’ महासचिव कार्कीले भने, ‘एउटाले दर्ता नगर्नेबित्तिकै त्यसको केही पुगेन । त्यसपछि पुनः म्याद थपिएको छ । यसमा कर्मचारीको मिलेमतो रहेको आशंका छ ।’ सार्वजनिक खरिद कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसबारे उजुरी गरिएको उनले जानकारी दिए । बोलपत्र मूल्यांकन गर्ने विधिमा खाद्यसँगै १२ करोड रुपैयाँ बराबरको कारोबारको सर्त राख्नुले सिम्रिक एयर कार्गोलाई नै खाद्यान्न ढुवानी जिम्मा लगाउने उद्देश्य देखिएको संघको दाबी छ । किनभने, कार्गोको हकमा सिम्रिकबाहेक अन्यले त्यति मूल्य बराबरको ढुवानी गरेका छैनन् ।

यता खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द भने एक एयरलाइन्स कम्पनी र तीन वटा कार्गो एजेन्सीले निवेदन दर्ता गराएपछि म्याद थपिएको दाबी गर्छन् । ‘म्याद घटाउन पाइँदैन । तर बढाउन पाइन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २१ दिनसम्म म्याद थप्न पाउँछ । यसले प्रतिस्पर्धी पनि बनाउँछ,’ उनले भने, ‘एयरलाइन्स कम्पनीले विगतमा समयमै खाद्यान्न ढुवानी गर्न सकेनन् । इमानदारीसाथ काम पनि गरेनन् । आफ्नो प्रमाण पुग्दैन । अनि अहिले उनीहरूले अरूलाई दोष मात्र दिएका छन् ।’ चन्दका अनुसार विगतमा एयरलाइन्स कम्पनीहरूलाई एउटै टेन्डर दुईवटा कम्पनीका नाममा समेत स्वीकृत गरिएको छ । त्यति बेला हुम्लाका लागि अन्य विकल्प थिएन । कार्गो एजेन्सी सक्षम थिएनन् । अहिले भने कार्गो एजेन्सी पनि ढुवानीका लागि सक्षम भएको चन्दको दाबी छ । ‘विगतमा हाम्रो बाध्यता थियो । कार्गो एजेन्सी सक्षम थिएनन् । त्यसको फाइदा उठाउँदै तारा, समिट र सीता एयरले मिलोमतोमा कार्टेलिङ गरेका थिए । मिलेर डकुमेन्ट पेस गर्ने र मिलोमतोमा भागबन्डा लगाउँथे,’ चन्दले भने, ‘चामल ढुवानी गर्ने भनेर होल्ड गर्ने, समयमै उडान नगर्ने, डलर पाउन्जेल त्यता लाग्ने, अन्तिममा केही नपाएपछि खाद्यान्न ढुवानी गर्थे । त्यसले कर्मचारीलाई गाह्रो भयो ।’ यसरी खाद्य कम्पनीले धोका पाएकै कारण अहिले मापदण्ड मागिएको चन्दको दाबी छ ।

समयमै ढुवानी गर्दैनन् कम्पनी

Inside Article Ads

एयरलाइन्स कम्पनीहरूले दुर्गममा खाद्यान्न ढुवानी गर्ने सम्झौता गरे पनि समयमै काम गर्दैनन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलेको विवरणअनुसार २०७४/७५ मा तारा एयर प्रालिले ७ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्ने सम्झौता गरेको थियो । तर उसले ४ हजार ६१ क्विन्टल मात्रै ढुवानी गरेको छ । सीता एयर प्रालिले ११ सय क्विन्टल खाद्यान्न ढुवानी सम्झौता गरेकामा ९ सय १४ क्विन्टल मात्रै ढुवानी गरेको छ । समिटले २ हजार क्विन्टलको सम्झौता गरेको थियो । उक्त एयरलाइन्सले भने २५ सय ६३ क्विन्टल ढुवानी गरेको छ । स्रोतका अनुसार समिटले अन्य कम्पनीको समेत ढुवानी गर्दा सम्झौताभन्दा बढी देखिएको हो । आर्थिक वर्ष २०७५/७६ मा समिट एयर प्रालिले २ हजार क्विन्टल ढुवानीको सम्झौता गरेका थिए । तर ११ सय ८६ क्विन्टल मात्रै ढुवानी भयो । सीता एयरले एक हजार क्विन्टल खाद्यान्न ढुवानीको सम्झौता गरेकामा ४ सय ८० क्विन्टल र तारा एयरले २५ सय क्विन्टलको सम्झौतामा २७ सय ७३ क्विन्टल ढुवानी गरेको कम्पनीको तथ्यांक छ । ताराले अरू कम्पनीको पनि ढुवानी गरिदिएको थियो । २०७५/७६ मा श्रीर्मिका एयर कार्गोले पनि २५ सय क्विन्टलको सम्झौता गरेको थियो । तर उसले ९ सय ४१ क्विन्टल मात्रै ढुवानी गरेको छ ।

२०७६/७७ मा तारा एयरले ४ हजार २ सय ५० क्विन्टल खाद्यान्न ढुवानी सम्झौता गरेकोमा १ हजार ३ सय ९८ क्विन्टल, समिट एयरले १ हजार क्विन्टल खाद्यान्न ढुवानी सम्झौता गरेकामा ७६४ क्विन्टल मात्रै ढुवानी गरेको थियो । श्रीर्मिका एयर कार्गोले पनि २ हजार क्विन्टल सम्झौता गरेकोमा १८५८ क्विन्टल मात्रै ढुवानी गरेको थियो । सीता एयर प्रालिले भने उक्त आर्थिक वर्षमा सम्झौताको दोब्बरभन्दा बढी ढुवानी गरेको छ । सीताले एक हजार क्विन्टल खाद्यान्न ढुवानी सम्झौता गरेकोमा २ हजार ४ सय ३४ क्विन्टल ढुवानी गरेको छ । २०७७/७८ मा भने श्रीर्मिका एयर कार्गोले मात्रै खाद्यान्न ढुवानी गर्‍यो । स्रोतका अनुसार अन्य एयरलाइन्सले प्रतिकिलो ११२ रुपैयाँका दरले ढुवानी दर प्रस्ताव गरेका थिए । तर, श्रीर्मिकाले प्रतिकिलो १०८ रुपैयाँ दरले टेन्डर हालेपछि उसैले जिम्मा पायो । गत आर्थिक वर्षमा १४ हजार क्विन्टल खाद्यान्न ढुवानी सम्झौता भएकोमा श्रीर्मिकाले १४ हजार पाँच सय ५८ क्विन्टल ढुवानी गरेको छ ।

खाद्यका अनुसार प्रदेश सरकारले माथिल्लो हुम्लाका लागि ५ सय ५८ क्विन्टल खाद्यान्न ढुवानीमा सहयोग गरेको थियो । यसले गर्दा सम्झौताभन्दा बढी ढुवानी भएको जनाइएको छ । ‘चामल खाद्यको भए पनि ढुवानी भाडा प्रदेश सरकारले बेहोर्‍यो,’ खाद्यका एक कर्मचारीले भने, ‘त्यही भएर सम्झौताभन्दा बढी ढुवानी देखियो ।’ कार्गोले ढुवानी गर्दा त्यही एयरलाइन्सबाट ढुवानी गर्ने हो । तर बोलपत्र आह्वान गर्दा एयरलाइन्सहरूले बढी र कार्गो एजेन्सीले सस्तो दरमा ढुवानी गर्ने गरेको खाद्यको दाबी छ । ‘जहाज आखिर यिनै कम्पनीका प्रयोग गर्ने हो । तारा, समिटलगायतबाट ढुवानी गर्ने हो । तर कार्गोले सस्तो दरमा समयमै ढुवानी गरिदिन्छन्,’ ती कर्मचारीले भने । २०७२/७३ मा एक किलो चामलको ढुवानी भाडा १३१ रुपैयाँ थियो । कार्गोले पनि प्रतिस्पर्धा गरेपछि ढुवानी भाडा प्रतिकिलो १०८ रुपैयाँमा झरेको हो ।

( कान्तिपुर दैनिक )

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.