
लुम्बिनी — २१ भाद्र २०७८
लुम्बिनी , अविरल वर्षाका कारण सडक अवरुद्ध बनेपछि रूपन्देहीमा तरकारीको भाउ अचाक्ली महँगिएको छ । अन्यत्रबाट आउने तरकारी आयात हुन नपाएकाले व्यापारीले अग्रिम व्यवस्था गरी राखेका तरकारी र यहींका स्थानीय किसानसँग किनेको तरकारीको भाउ बढेको हो । स्थानीय किसानले फलाएको तरकारी यहींको बजारमा सीमित भएपछि व्यापारीले रेट बढाएर बिक्री गरिरहेका छन् । खुद्रा पसलमा टमाटर प्रतिकिलो ६०, लौका ८०, करेला १ सय २०, फूलगोभी १ सय ६० र बन्दागोभी ७० रुपैयाँ प्रतिकिलोसम्म पुगेको बुटवल–११ देवीनगरका खेम पाण्डेले बताए । फलफूलको भाउ भने १०/२० रुपैयाँ सस्तिएको उनको भनाइ छ । ‘कोरोनाले सबै काम चौपट बनाएको छ,’ उनले भने, ‘महँगो तरकारी किनेर खान सक्ने अवस्था छैन ।’ पानीकै कारण सडक बन्द भएपछि एक सातामै तरकारीको भाउमा ठूलो अन्तर देखिएको बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समिति अध्यक्ष घनश्याम भुसालको भनाइ छ ।
एक साताअघि घाम लाग्दा आयात भइरहेको तरकारी र फलफूल पछिल्ला दिन आउन नपाएपछि व्यापारीले खरिद गर्दा महँगो पर्ने र खुद्रा विक्रेताले दररेट बढाएर बिक्री गर्ने गरेको उनले बताए । ‘अहिले यहींका किसानको तरकारी अन्त पनि नजाने र यहींका बजारमा कम मूल्य पर्ने भइरहेको छ,’ भुसालले भने, ‘अन्यत्रदेखि आउने तरकारी सडकमै जाम वा पठाउँदै नपठाउने हुँदा रेट फरक परेको छ ।’ गत साता प्रतिकिलो २५/३० रुपैयाँ रहेको टमाटर होलसेलमै अहिले ४० रुपैयाँ पुगेको छ । त्यस्तै सिमीको भाउ गत साता ६५ देखि ७५ रुपैयाँ रहेकामा अहिले १ सयदेखि १ सय २० रुपैयाँसम्म पर्ने गरेको बुटवल कृषि उपज थोक बजार केन्द्रकी सूची संकलनकर्ता सीता पौड्यालले जानकारी दिइन् । बोडी प्रतिकिलो २५/३० रुपैयाँ रहेकामा यो साता १ सय १० देखि १ सय २० रुपैयाँ पुगेको छ । लौका २५ रुपैयाँबाट बढेर ३५ रुपैयाँ र तीते करेला ९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । बन्दागोभी प्रतिकेजी २० रहेकामा अहिले ३० रुपैयाँ पुगेको छ । त्यस्तै अहिले सिजन नभए पनि फुलगोभी ६० बाट बढेर १ सय रुपैयाँसम्म पर्ने गरेको उनले बताइन् । पानी परेकै कारण तरकारीको दररेटमा होलसेल भाउमै यत्रो भिन्नता देखिएको उनले जनाइन् । फलफूलको दररेट भने अन्तदेखि आउन नपाएको र स्टक बिग्रिने डर भएकाले केही घटेर बजारमा बिक्री भइरहेको उनले बताइन् ।
( कान्तिपुर दैनिक )
