
पर्सा — २० भाद्र २०७८
पर्सा , यस वर्षको उखु क्रसिङ सिजन नजिकिए पनि पर्सा–बाराका किसानले सरकारबाट गत वर्षकै उखुको अनुदान रकम पाएका छैनन् । पर्सा र बाराका किसानले सरकारबाट अनुदान बापतको करिब ७ करोड रुपैयाँ नपाएको उखु उत्पादन संघ पर्साका अध्यक्ष असर्फी साहले जानकारी दिए । सरकारले चिनी मिलसँग किसानको तथ्यांक लिएर प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान किसानलाई दिन्छ । त्यसैले चिनी मिलले किसानलाई उखु खरिद गरेबापत रकम भुक्तानी गर्दा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा कम दिन्छन् । किसानले त्यति नै रकम सरकारबाट अनुदान पाउँछन् । सरकारले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानलाई यो रकम बर्सेनि वितरण गर्छ । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले किसानको बैंक खातामै अनुदान रकम जम्मा गर्छ ।
पर्सा, बाराका किसानले बाराको रिलायन्स सुगर मिल र रौतहटको कटहरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिलाई उखु बिक्री गर्छन् । त्यसमध्ये उखुको ठूलो हिस्सा रिलायन्सलाई नै बिक्री गर्छन् । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५ सय ४२ रुपैयाँ निर्धारण गरेको थियो । दुवै जिल्लाका किसानको अनुदान रकम कोलेनिका बारामा आउने भएकाले यस सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगन्जका सूचना अधिकारी विष्णु सुवेदीले बताए । ‘मैले पर्सा कोलेनिकामा यो रकम आएको जानकारी पाएको छैन,’ सुवेदीले भने, ‘उद्योग बारामै भएकाले सरकारले त्यहाँकै कोलेनिकामार्फत अनुदान रकम वितरण गर्छ ।’
( कान्तिपुर दैनिक )
