
काठमाडौँ — १६ भाद्र २०७८
काठमाडौँ, कोभिडका कारण उत्पन्न असहज परिस्थितिले शिथिल बनेको व्यावसायिक क्षेत्रलाई प्राण दिन भन्दै सरकारले ल्याएको व्यावसायिक निरन्तरता कर्जा चालु आर्थिक वर्षमा एक जनाले मात्र लिएका छन् । यो बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजदरमा पाइने सस्तो कर्जा हो । कोभिडबाट धेरै व्यवसाय प्रभावित भएको भनिए पनि यो कर्जामा व्यवसायीकै रुचि नहुनुलाई चासोका रूपमा हेरिएको छ ।चालु आर्थिक वर्षमा भने एक जना ऋणीले मात्र यस्तो कजा लिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत एक शैक्षिक संस्थाले मात्र व्यावसायिक निरन्तरता कर्जा लिएको हो । कोभिडबाट प्रभावित उद्योगी व्यवसायीको व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले गत आर्थिक वर्षको बजेटमार्फत सरकारले उक्त कार्यक्रम ल्याएको हो । बजेट कार्यान्वयन आएको ५ महिना (गत मंसिर) पछि मात्र उक्त कार्यक्रम लागू भयो । यसअनुसार गत आर्थिक वर्षमा ७२ ऋणीले यो कर्जा लिएका छन् ।
गत आर्थिक वर्षको अन्त्यसम्म यो शीर्षकमा ९५ करोड ६७ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यसमध्ये ७३ करोड ६८ लाख रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।गत असारमा मात्र १२ जना ऋणीले यो कर्जा सुविधा लिएका थिए । तीमध्ये ९ वटा शैक्षिक संस्था छन् । बाँकी तीन वटा ऋणी एयरलाइन्स, एग्रो इन्टरप्राइजेज र केबलकार सञ्चालक छन् । गत आर्थिक वर्षको बजेटमार्फत तत्कालीन सरकारले ५० अर्ब रुपैयाँको कोष स्थापना गरी ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन उक्त कार्यक्रम ल्याएको थियो । बजेटमा कार्यक्रम घोषणा भएपछि मन्दीमा रहेको व्यवसायले पुनर्जीवन पाउने भन्दै निकै सकारात्मक रूपमा हेरिएको थियो । निजी क्षेत्रले पनि निकै प्रशंसा गरेको थियो । तर कार्यविधि लागू भएपछि भने अनपेक्षित परिणाम देखियो ।
अहिले पनि कोभिडबाट निश्चित क्षेत्र प्रभावित नै रहेकाले उक्त कर्जामा व्यवसायीको रुचि बढ्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘व्यवसायीले पुनर्कर्जा, ब्याज अनुदानको सहुलियत कर्जा सुविधा पनि लिएका ऋणीले यो कर्जा पाउँदैनन् । गत आर्थिक वर्षमा कार्यविधि पनि ढिलो गरेरै आयो,’ उनले भने, ‘यसकारण पनि व्यावसायिक निरन्तरताका लागि योग्य व्यवसायी कम भएका होलान् ।’ व्यावसायिक निरन्तरतासम्बन्धी विद्यमान कार्यविधि परिमार्जनको तयारीमा रहेको पनि उनले जानकारी दिए । गत आर्थिक वर्षको यो कार्यक्रम चालु आर्थिक वर्षमा पनि निरन्तर रहेकाले कोभिडका कारण अप्ठेरोमा रहेका व्यवसायीले अहिले पनि कर्जा सुविधा उपयोग गर्न उनले सुझाए ।यसरी कर्जा प्रवाह नहुनुमा व्यवसायी र बैंकहरूबीच मतभेद देखिन्छ । कर्जाको माग नै नआएकाले धेरै कर्जा प्रवाह गर्न नसकिएको बैंकहरूको दाबी छ । व्यवसायी भने कार्यविधिमा उल्लिखित मापदण्ड नै जटिल भएकाले त्यो पूरा गर्न नसकेको गुनासो गर्छन् ।
व्यावसायिक निरन्तरता कर्जा कार्यविधि व्यवसायीमैत्री नभएकाले प्रभावकारी हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । ‘कार्यविधि परिमार्जन गर्ने कुरो भएको थियो,’ उनले भने, ‘कार्यविधि व्यवसायीका लागि रिजिड भयो भनिएको छ । ती विषय परिमार्जन गर्नुपर्छ ।’दोस्रो लहरको कोभिड संक्रमणले उद्योग व्यवसाय धेरै प्रभावित भएको र वित्तीय प्रणालीमा तरलता घट्दै गएकाले अब पाँच प्रतिशतको व्यावसायिक निरन्तरता कर्जा उपयोग हुने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाको भनाइ छ । ‘विगतमा अवस्था सहज बन्दै गएको थियो, बैंक ब्याजदर पनि कम थियो, व्यवसाय सुधारका दिशामा थियो,’ उनले भने, ‘अहिले बैंकको ब्याजदर बढ्दो छ । तरलता घटिरहेको छ । अब यो कर्जाको माग बढ्न सक्छ ।’कोभिडबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले २०७७ मंसिरमा सरकारले कार्यविधि जारी गरेको हो ।
( कान्तिपुर दैनिक )
