
काठमाडौँ — १५ भाद्र २०७८
काठमाडौँ , एकाघर परिवारले अब एउटा संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी कुल १२ करोड रुपैयाँभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने भएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा राष्ट्र बैंकले यस्तो सीमा तोकिदिएको थियो । तर उक्त सीमा व्यक्तिका लागि मात्र नभएर एकाघर परिवारका लागि भएको राष्ट्र बैंकले प्रस्ट्याएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तोकिएको सेयर कर्जाको सीमा कार्यान्वयनका लागि जारी परिपत्रमा यस्तो व्यवस्था छ ।‘मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘यो निर्देशन जारी हुनुपूर्व (२०७८ भदौ ८ अघि) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रूपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी एक वर्षमध्ये जुन पहिले हुन्छ, सो अवधिभित्र नियमित गरिसक्नुपर्नेछ ।’
एकाघर परिवारका सदस्यलाई एउटै ऋणीका रूपमा मानिएकाले सो घरपरिवार (एक सदस्य वा धेरै) ले एक संस्थाबाट बढीमा ४ करोड र सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँभन्दा धेरै सेयर कर्जा लिन नपाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । ‘सेयर कर्जामा सीमा तोक्दा परिवारका एकभन्दा बढी सदस्यले १२/१२ करोडका दरले कर्जा लिन सकिहालिन्छ भन्ने चर्चा सुनियो,’ उनले भने, ‘ग्राहकहरू भ्रममा नपरून् भनेर निर्देशनमार्फत प्रस्ट्याइएको हो ।’ राष्ट्र बैंकले सेयर धितोकर्जाको सीमालाई पनि एकीकृत निर्देशनको एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारणसम्बन्धी व्यवस्थाअन्तर्गत राखिएको छ ।सो व्यवस्थामा कर्जा सापट तथा सुविधा सीमाको प्रयोजनका लागि आपसी सम्बन्ध भएका ग्राहकको समूहलाई एउटै समूह मानिने उल्लेख छ । यसअनुसार एकाघर भन्नाले कुनै व्यक्ति, कम्पनीको सञ्चालक, प्राइभेट लिमिटेड कम्पनीका सेयरधनी, साझेदारी फर्मका साझेदार, फर्मका प्रोप्राइटर तथा त्यस्ता व्यक्ति, सञ्चालक, सेयरधनी, साझेदार वा प्रोप्राइटरका एकाघरमा बसोबास गरी आएका वा छुट्टाभिन्न भएका पति वा पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा र आफूले पालनपोषण गर्नुपर्ने दाजु, भाइ, तथा दिदी, बहिनीलाई जनाउँछ । यसअघि सेयर धितो कर्जामा सीमा तोकिएको थिएन ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले करिब ५६ अर्ब रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा यो क्षेत्रमा प्रवाह भएको कर्जा १ सय १० प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंक तथा वित्तीय संस्थाले कुल ५० अर्ब ४० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए । गत आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा बढेर १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रवाह गरेको कर्जाको वृद्धिदरमध्ये यो सबैभन्दा बढी हो ।पहिलो र दोस्रो लहरको कोरोना संक्रमणका कारण चालु आर्थिक वर्षका अधिकांश महिना अर्थतन्त्रका धेरै क्षेत्र ठप्प रहे । जसकारण ती क्षेत्रबाट कर्जा माग हुन सकेको छैन । तर, सेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ ।
यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा विस्तार गरेको जानकारहरू बताउँछन् । सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा कर्जा प्रवाह बढाएका हुन् । अघिल्लो लकडाउनमा तीन महिनाभन्दा बढी सेयर बजार बन्द थियो ।त्यसपछि खुलेको बजार निरन्तरजसो बढिरहेको छ । यही कारण बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि यही क्षेत्रमा केन्द्रित भएको बैंकरहरूले बताएका छन् । जसका कारण यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै ‘प्रडक्ट’ बनाएर बजार आएका छन् । यो पनि सेयर धितोमा कर्जा उल्लेख्य बढ्नुको प्रमुख कारण भएको बताइएको छ । यसबाहेक व्यक्तिगत ओभरड्राफ्ट शीर्षकमा प्रवाह भएको अधिकांश कर्जा पनि सेयर बजारमा गएको आशंका छ । यो शीर्षकमा प्रवाह भएको कर्जाको प्रयोजन खुलाइएको हुँदैन । यसकारण बजार बढेसँगै ओभरड्राफ्ट कर्जा पनि वृद्धि भएकाले जानकारहरू बताउँछन् ।
( कान्तिपुर दैनिक )
