
कञ्चनपुर — १३ भाद्र २०७८
कञ्चनपुर, अढाई दशकअघि नै कञ्चनपुरको वेदकोट नगरपालिका–२ को छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा सुरु भएको हो । काम थाल्न दबाबका निम्ति स्थानीय स्तरमा विभिन्न समितिहरू बनाइए । त्यही दबाब र अध्ययनपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले औद्योगिक क्षेत्र स्थापनाको तयारी थाल्यो ।गत फागुन दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास पनि गरे । तर २ वर्षभित्र उद्योग स्थापना गरिने लक्ष्यका साथ शिलान्यास भए पनि पछिल्लो ६ महिनामा केही रूख छपान गर्नेबाहेक कुनै भौतिक प्रगति भएको छैन ।
‘जुन तामझामका साथ शिलान्यास भएको थियो, त्यसअनुसार काम अघि बढेन,’ दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि गठित संघर्ष समितिका अध्यक्ष रामदत्त जोशीले भने, ‘शिलान्यासपछि हामी डेलिगेसनसहित काठमाडौं पुग्यौं । काम तत्काल अघि बढाउन आग्रह गर्यौं तर पनि हालसम्म ठोस रूपमा कुनै काम भएको छैन ।’ कोरोना महामारीका कारण रूख छपानको काम वैशाखदेखि रोकिएको छ । ‘हालसम्म करिब तीन/चार हजार रूख मात्रै छपान गरिएको छ,’ वेदकोट–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले भने, ‘औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको क्षेत्रीय कार्यालय नेपालगन्जबाटै सबै कामको रेखदेख भइरहेको छ ।’
तत्काल काट्नुपर्ने रूखमध्ये ४० प्रतिशत मात्रै छपान भएको लिमिटेडका योजना विकास विभाग डिभिजन प्रमुख सञ्जय मानन्धरले बताए । छपानको काम सकिएर मन्त्रिपरिषद्बाट भोगाधिकार प्राप्त भएपछि मात्रै रूख कटानदेखि अन्य संरचना निर्माणको काम अघि बढ्नेछ । ‘भोगाधिकार प्राप्त गर्नै एक डेढ वर्ष लाग्छ,’ मानन्धरले भने, ‘वातावरणीय प्रभाव मूल्यांकनको काम पनि भर्खरै सकिएको छ ।’ अहिले करिब ३ सय बिघा क्षेत्रमा मात्रै औद्योगिक क्षेत्र स्थापना गरिनेछ । त्यसपछि आवश्यकताअनुसार क्षेत्रफल बढाउँदै लगिने उनले बताए । ‘यहाँ साना, मझौला र ठूला गरी १ सय २४ उद्योग स्थापना गर्न सकिनेछ,’ उनले भने ।
छेलामा औद्योगिक क्षेत्र स्थापनाको चर्चा २०५१ देखि सुरु भएको हो । तत्कालीन सरकारले सम्भाव्यता अध्ययनका लागि २ लाख रुपैयाँ बजेटसमेत छुट्याएको थियो । त्यसयता औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बेला–बेलामा अध्ययन गर्दै आएको थियो । यस क्षेत्रका उद्योगी, व्यवसायी र संघ संस्थाहरूले औद्योगिक क्षेत्र स्थापनाका लागि निरन्तर दबाबसमेत दिँदै आएका थिए । गत फागुनमा शिलान्यासका क्रममा लिमिटेड अध्यक्ष नन्दकिशोर बस्नेतले २ वर्षभित्र उद्योग स्थापना गर्ने र ५ वर्षभित्र औद्योगिक क्षेत्रको काम सक्ने लक्ष्य सुनाएका थिए । औद्योगिक क्षेत्र स्थापनाका लागि वेदकोट–२ स्थित जनचेतना सामुदायिक वन र वडा–३ स्थित वेदकोट सामुदायिक वनका २५ हजार रूख काट्नुपर्ने भए पनि तत्काल भौतिक संरचना निर्माण हुने स्थानमा मात्रै रूख काटिने उनले बताएका थिए । तर लक्ष्यअनुसार काम भने हुन सकेको छैन । उद्योग स्थापनाका लागि ९ अर्ब बजेट सुनिश्चित भएको छ ।
( कान्तिपुर दैनिक )
