
काठमाडौँ — १३ भाद्र २०७८
काठमाडौँ, अजोड इन्स्योरेन्स कम्पनीको भित्री कारोबार सम्बन्धमा भइरहेको अनुसन्धानबारे अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले गत साता पत्र पठाएर अनुसन्धानको अवस्थाबारे सोधेको हो । झन्डै पाँच महिनासम्म पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नभएपछि त्यसबारे जानकारी मागिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ । करिब २ महिनाअघि अनुसन्धान सकिए पनि सेबोनले कारबाही परको कुरा, प्रतिवेदनसमेत सार्वजनिक गरेको थिएन । मन्त्रालयको पत्रमा के कारणले प्रतिवेदन गुपचुप राखियो, अनुसन्धानको निष्कर्ष के रह्यो ? लगायत विषयमा जानकारी मागिएको स्रोतको भनाइ छ ।अजोड इन्स्योरेन्सको भित्री कारोबार सम्बन्धमा जानकारी माग्दै धितोपत्र बोर्डलाई पत्र पठाइएको अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख दीर्घराज मैनालीले स्वीकार गरे ।
‘हामीले विभिन्न कुराहरू माग गर्दै हरेक दिनजसो पत्र पठाइरहेका हुन्छौं । सोही क्रममा अजोड इन्स्योरेन्सको सम्बन्धमा पनि पत्र पठाइएको हो,’ उनले भने, ‘सेबोनबाट जवाफ पनि आइसकेको छ ।’ गत चैत १९ मा सेयर बजारमा अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भएको थियो ।त्यसको भोलिपल्ट मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो । उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको थियो । सो दिनको बाँकी कारोबार ब्रोकर नम्बर ५० बाट भएको थियो । उक्त कम्पनीबाट ११ हजार २ सय १९ कित्ता सेयर किनबेच भएको थियो ।
‘अनुसन्धानमा पूर्वसूचनाकै आधारमा कुमारी बैंक र कुमारी क्यापिटलले ठूलो परिणाममा अजोड इन्स्योरेन्सको कारोबार गरेको भेटिएको छ,’ स्रोतले भन्यो, ‘कुमारी क्यापिटल र बैंक कर्मचारीका श्रीमतीका नाममा सेयर खरिद भएको छ ।’ स्रोतका अनुसार सो अनुसन्धानमा सकेसम्म कुमारी क्यापिटल र कुमारी बैंकको नामसमेत उल्लेख नगर्न बोर्ड नेतृत्वबाटै अध्ययन समितिलाई दबाब गएको थियो । तर अर्थ मन्त्रालयमा पठाइएको प्रतिवेदनमा अनुसन्धानमा भेटिएका सबै विवरण उल्लेख रहेको स्रोतले बताएको छ ।‘अर्थ मन्त्रालयले के भन्छ, त्यसकै आधारमा कारबाही अघि बढाउने–नबढाउनेबारे निर्णय होला,’ स्रोतले भन्यो, ‘अनुसन्धानमा भने भित्री कारोबार स्पष्ट रूपमा पुष्टि भएको छ ।’ अजोड इन्स्योरेन्सको भित्री कारोबारपछि नियामक निकाय बिमा समितिले पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ । बिमा कम्पनीमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त व्यवस्था गरिएको थियो । यसअघि यस्तो व्यवस्था थिएन ।
( कान्तिपुर दैनिक )
