Fast Nepal News

कोभिडकालमै भक्तपुरका होटलमा लगानी थप

banner single news

भक्तपुर — १३ भाद्र २०७८

भक्तपुर, २०७२ वैशाखको भूकम्पले थिलथिलो बनेको होटल व्यवसाय लयमा फर्किंदै गर्दा सरकारले भ्रमण वर्ष घोषणा गर्‍यो । सरकारीस्तरबाटै तामझामसाथ भ्रमण वर्ष २०२० सुरु भए पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिडका कारण स्थगन भयो । २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणासँगै नयाँ–नयाँ होटल, रिसोर्ट अनि रेस्टुराँ खुलाउन उत्साहित व्यवसायी निराश भए । झन्डै डेढ वर्ष ठप्पप्रायः बनेको होटल व्यवसाय कोभिड कहरबीच जुर्मुराउन थालेको छ । होटल कोरोनाका कारण बन्द भए पनि नयाँ लगानी भने थपिइरहेको व्यवसायी बताउँछन् । होटलबाहेकका अन्य पर्यटन पूर्वाधारमा समेत लगानी थपिएको छ ।

पर्यटकीय गन्तव्य भक्तपुर दरबार स्क्वायर, रानीकोट, घ्याम्पेडाँडा र नगरकोटमा होटल थपिने क्रम बढ्दो छ । सूर्यविनायक गणेश मन्दिर, राधेराधेलगायत क्षेत्र पनि व्यापारिक केन्द्रका रूपमा विकास हुँदै गएका छन् । कोरोना महामारीकै बीच आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरेर करोडौं रुपैयाँ लगानीमा होटल सञ्चालनमा आएका छन् । ‘कोरोना कहर सधैं रहन्न, अब युवापुस्ता पर्यटन प्रवर्द्धनमा लाग्ने बेला आएको छ,’ व्यवसायी विज्ञान राईले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकलक्षित एडभेन्चर गेमसहितका होटल व्यवसाय थालेका छौं ।’ करिब ३५ करोड रुपैयाँ लगानीमा सूर्यविनायक–७ पाइलट बाबा गुन्डुमा होटल निर्माण थालिएको उनले जानकारी दिए ।

कोभिडको अहिलेकै अवस्थामा बाह्य पर्यटक घुम्न आइहाल्दैनन् । पर्यटन व्यवसायी भने आन्तरिक पर्यटकलक्षित प्याकेज ल्याएर पर्यटन प्रवर्द्धनमा लागिपरेका छन् । ‘कोरोना कहरका कारण तत्काल बाह्य पर्यटक आउने अवस्था छैन,’ होटल व्यवसायी सुरेन्द्र प्रजापतिले भने, ‘आन्तरिक पर्यटकलाई ल्याउन होटलमा प्याकेजको व्यवस्था भने गरेका छौं ।’ करिब ८ करोड रुपैयाँ लागतमा इन्द्रेणी बुटिक होटल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।कोरोना कहरकै बीच बाह्य पर्यटक भित्रिए पनि उनीहरूलाई कसरी गन्तव्यसम्म सुरक्षित पुर्‍याउने भन्ने योजना सरकार र पर्यटन व्यवसायीले बनाउन भने सकेका छैनन् । भ्रमण वर्ष २०२० को सुरुमै सञ्चालनमा ल्याउने तयारी भए पनि कतिपय होटल कोरोना महामारीका कारण गत फागुनदेखि मात्र सञ्चालनमा आएका छन् । यी होटमा एडभेन्चर गेम, स्पा, जिमहाउस, स्वीमिङ पुल, ग्रिन गार्डेनलगायत सुविधा छन् ।

Inside Article Ads

लकडाउनपछि जिल्लामा सञ्चालित ३ वटा होटल बन्द भएका होटल एसोसिएसन नेपाल भक्तपुरका अध्यक्ष सत्यराम सुवालले जानकारी दिए । लगानी थप्ने व्यवसायीको संख्या भने त्यसको दोब्बर छ ।होटल एसोसिएसन भक्तपुरमा जिल्लाका ६२ वटा होटल आबद्ध छन् । लकडाउनअघि बाह्य पर्यटकलक्षित होटल व्यवसायीले समेत कोरोना कहरकै बीच आन्तरिक पर्यटकलाई समेत आकर्षित गर्न प्याकेजको व्यवस्था गरेका छन् ।भक्तपुर नगरमा ‘नाइट स्टे’ को भने अझै विकास हुन नसकेको व्यवसायीको गुनासो छ । ‘एक रात भक्तपुरमै बसेर विश्व प्रसिद्ध सम्पदाको अवलोकन गर्ने, मौलिक खानाको स्वाद लिने अवस्था अझै आएको छैन,’ सुवालले भने, ‘स्थानीय तहले पर्यटन प्रवर्द्धनका लागि पर्यटकलाई दुई दिनसम्म नगरमै राख्ने कार्यक्रम ल्याउनु जरुरी छ ।’ मठ/मन्दिर, पदमार्ग लगायतमा बत्तीको व्यवस्था गर्न सके साँझ घुम्ने पर्यटकलाई सहज हुने र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको सुझाव छ ।

( कान्तिपुर दैनिक )

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.