Fast Nepal News

लकडाउनको डरले सस्तोमै काँचो स्याउ बिक्री

banner single news

जुम्ला — १३ भाद्र २०७८

जुम्ला, जुम्लाका किसानले बगैंचाको स्याउ नपाक्दै बजार पठाउन थालेका छन् । कोरोना संक्रमण बढेर फेरि ‘लकडाउन’ भए स्याउ बिक्री नहुने भन्दै किसानले धमाधम काँचो स्याउ बजार पठाइरहेका हुन् ।कृषि विकास कार्यालयले भदौ तेस्रो सातापछि मात्रै स्याउ टिप्न आग्रह गरे पनि किसानले स्याउ बजार पठाइसकेका छन् । काँचो स्याउ बजारमा जाँदा जुम्ली स्याउको पहिचान गुम्ने र गुणस्तर खस्कने खतरा बढेको कृषि विज्ञहरू बताउँछन् । अहिले जिल्लाको काँचो स्याउ सदरमुकाम खलंगा, सुर्खेत, नेपालगन्जलगायत बजारमा पुगिसकेको छ । व्यापारीले पनि बगैंचामै पुगेर स्याउ किनिरहेका छन् ।

जुम्लाका किसानको प्रमुख आयस्रोत नै स्याउ बिक्री हो । ‘स्याउ बिक्रीबाट आम्दानी लिन नसके जीविकोपार्जनमा समस्या हुन्छ,’ स्थानीय किसान माया बुढाले भनिन्, ‘कोरोना संक्रमण दिनदिनै बढिरहेकाले लकडाउनको हल्ला छ, त्यसैले काँचो स्याउ बजार पठाइरहेका हौं ।’ उनका अनुसार अहिले स्याउ बिक्री नभएपछि कुहिने डर पनि हुन्छ । निषेधाज्ञा भए पनि निश्चित समय बजार खुलेको मौकामा स्याउ बिक्री गर्न थालेको उनले बताइन् ।अहिले स्याउ टिपेर बिक्री गर्नुको विकल्प नभएको अर्का किसान करवीर शाहीले पनि भनाइ छ । ‘यहाँ स्याउ भण्डार गरेर राख्ने ठाउँ पनि छैन,’ उनले भने, ‘अहिले काँचै भए पनि बिक्री गरे ढुक्क हुन्छ ।’ स्याउ किन्न व्यापारी बगैंचामै आइरहेको उनले जानकारी दिए । व्यापारीले प्रतिकिलो ५० रुपैयाँमा स्याउ किनिरहेका छन् । कोल्डस्टर भएको भए स्याउ भण्डारण गरी राख्दा पछि प्रतिकिलो ८०/९० रुपैयाँसम्ममा बिक्री हुने किसानको भनाइ छ ।

बगैंचामा त्यत्तिकै कुहिएर जानुभन्दा ५० रुपैयाँ किलो भए पनि बेचिरहेको अर्का किसान कमल देवकोटाले बताए । अहिले खलंगा आसपासका क्षेत्रका स्याउ बगैंचा खाली हुन थालेका छन् । ‘अधिकांश स्याउ जिल्ला बाहिर गइसक्यो,’ उनले भने, ‘अब धेरै बोट हुने किसानको स्याउ मात्र बजार जान बाँकी छ ।’ सरकारले स्याउको बजारीकरणमा सहयोग नगरेको देवकोटाको गुनासो छ ।जुम्लाको स्याउ प्रांगारिक भएकाले स्याउमा पूर्ण रूपमा कलर नभरिएको कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । ‘स्याउमा गुलियो मात्रा पनि कम छ,’ उनले भने, ‘भदौ तेस्रो सातासम्म स्याउ रूखमै भयो भने बल्ल त्यो पाकेर खानलायक हुन्छ ।’ पटकपटक किसानलाई स्याउ पूर्ण रूपमा पाक्न दिनुपर्छ भने पनि बेवास्ता भएको उनको भनाइ छ । नपाकेको स्याउ बजारमा पुर्‍याउँदा किसानलाई पनि फाइदा नहुने उनको दाबी छ ।

Inside Article Ads

नपाकेको स्याउ जिल्लाबाहिर लैजान नदिन सडक सञ्जालसँग जोडिएका पालिका र प्रहरी चौकीलाई कृषि विकास कार्यालयले अनुरोध गरेको थियो । किसान र व्यापारीको अटेरीपनले जुम्लाको स्याउको पहिचान गुम्ने चिन्ता बढेको कृषि कार्यालय प्रमुख देवकोटाले बताए । भदौ तेस्रो सातादेखि मात्र जुम्ली स्याउ परिपक्व हुन्छ । ‘एउटा स्याउमा हुनुपर्ने गुलियोपनाले पूर्णता पाउँछ, स्याउमा पूरै कलर भरिन्छ,’ उनले भने, ‘तर जुम्ली स्याउ हरियो कलरमा र टर्रो स्वादमा बिक्री हुन थाल्यो ।’जिल्ला बाहिर स्याउ पठाउन सम्बन्धित नगरपालिका, गाउँपालिका र वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ । तर स्थानीय पालिकाहरूले स्याउ पाके/नपाकेको ख्याल नगरेर सिफारिस दिँदा समस्या भएको देवकोटाको भनाइ छ । जिल्लाको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो १ सय १० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । अहिले जुम्लामा ३ हजार ८ सय हेक्टर क्षेत्रफल जमिनमा स्याउखेती भइरहेको छ ।यो वर्ष १ हजार ६ सय हेक्टरमा लगाइएको स्याउले उत्पादन दिएको कार्यालयले जनाएको छ । यो वर्ष झन्डै १६ करोड रुपैयाँको स्याउ बिक्री हुने अनुमान गरिएको देवकोटाले बताए ।

( कान्तिपुर दैनिक )

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.