
पोखरा — ११ भाद्र २०७८
पोखरा, भारतीय लगानीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायीले ३ अर्ब २५ करोड रुपैयाँमा किनेका छन् । व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले अस्पताल खरिद गरेका हुन् । नक्सा पास नगरी २७ वर्षदेखि सञ्चालन भइरहेको अस्पतालको नक्सा पास शुल्क र बक्यौता सम्पत्ति कर नयाँ व्यवस्थापनले तिर्ने भएको छ ।मणिपालले हाल पोखरा महानगरलाई बुझाउनुपर्ने नक्सा पास शुल्क, सम्पत्ति करलगायत अन्य दायित्व गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ । उक्त रकम नयाँ व्यवस्थापनले तिर्ने गरी शुक्रबार भर्चुअल माध्यमबाट सेयर खरिद सम्झौता (एसपीए) हुने व्यवसायी पौडेलले जानकारी दिए । मेडिकल कलेज र अस्पतालको कुल मूल्यांकन भने २ अर्ब २५ करोड रुपैयाँ भएको उनको भनाइ छ । अस्पतालमा बतासको ६० प्रतिशत र पौडेलको ४० प्रतिशत लगानी रहनेछ । अस्पतालको अध्यक्षमा आनन्दराज बतास र उपाध्यक्ष पौडेल रहनेछन् । बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास तथा निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्य रहनेछन् ।
मणिपाल कलेज अफ मेडिकल साइन्सेस (एमकम्स) अन्तर्गत दुई कलेज पोखरा–११ फूलबारी र पोखरा–१६ दीपमा सञ्चालनमा छन् । मणिपालले हाल एमबीबीएसमा वार्षिक १ सय जना विद्यार्थी भर्ना लिँदै आएको छ । एमडी/एमएस र नर्सिङ कलेज मणिपालले सञ्चालन गरेको छ । मेडिकल कलेजको मुख्य संरचना रहेको ४० रोपनी जग्गा मणिपालकै नाममा छ भने बाँकी १ सय ६० रोपनी नेपाल सरकारसँग भाडामा लिएको हो । मणिपालको भवनको बिल्टअप एरिया १० लाख वर्गफिट छ । अस्पतालमा १ हजार १ सय कर्मचारी कार्यरत छन् ।महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदनअनुसार नक्सा पास शुल्क र वातावरण शुल्कबापत मणिपालले २१ करोड ७० लाख रुपैयाँ पोखरा महानगरलाई बुझाउन बाँकी छ । वार्षिक सम्पत्ति करबापत पनि मणिपालले करोडौं रुपैयाँ महानगरलाई बुझाएको छैन ।
( कान्तिपुर दैनिक )
