
नयाँदिल्ली — ६ भाद्र २०७८
नयाँदिल्ली , कोभिडलाई कारण देखाएर नयाँ दिल्ली र काठमाडौंबीचको हवाई उडान नियन्त्रित गरिँदा आम मानिसले चर्को भाडा तिरेर यात्रा गर्नुपरेको छ । नियन्त्रणकै कारण हवाईसेवा कम्पनीहरूले प्रतिस्पर्धात्मक उडान सञ्चालन गर्न पाएका छैनन् ।यात्रुको चाप बढी र सिट सीमित भएको फाइदा उठाउँदै निश्चित कम्पनीहरूले चर्को भाडा उठाइरहेका छन् । पछिल्लोपटक यात्रुले एकतर्फी भाडा नै नेपाली रुपैयाँ ५० हजारसम्म तिर्नुपरेको छ जबकि कोभिडअगाडि ८ हजार रुपैयाँसम्ममा टिकट पाइन्थ्यो ।गत वर्ष कोभिडका कारण बन्द हवाई मार्ग दुई देशबीच भएको एयर बबल सम्झौतापछि खुलाइएको थियो । कोभिडको दोस्रो लहर आएपछि नेपालले मे ७ देखि नेपाल वायुसेवा निगम र एयर इन्डियालाई हप्तामा एक/एक उडान गर्ने अनुमति दिएको थियो ।
कोभिडको प्रभाव घट्दै गएपछि जुलाई २४ बाट दुवै कम्पनीलाई हप्तामा ३/३ वटा उडानको अनुमति दिइएको छ । सोमबार, बुधबार र शनिबार नेपाल एयरलाइन्सले तथा आइतबार, मंगलबार र शुक्रबार एयर इन्डियाले एक–एक उडान भर्छन् । बिहीबार कुनै पनि उडान हुँदैन । दिल्ली र काठमाडौंमा कोभिड कम भएसँगै स्वास्थ्य उपचार, व्यवसाय, अध्ययन, भिसाका लागि अन्तर्वार्ता दिन, विभिन्न तहका परीक्षामा सामेल हुनलगायत कामले यात्रा गर्नेहरूको चाप धेरै छ । प्रत्येक दिन हुने एउटा उडान भरिभराउ नै देखिन्छ ।नेपाल एयरलाइन्सका दिल्लीस्थित प्रबन्धक नारायण पौडेल यति बेला यात्रुको चाप रहेको बताउँछन् । उडान संख्या बढाउन नसकिएकाले यात्रुसँगै विमान कम्पनीलाई मार परेको उनले उल्लेख गरे ।
यात्रुको चाप रहेको तथा प्रतिस्पर्धा नरहेकाले निगमले पनि थोरै सिट मात्रै सस्तोमा छाडेर धेरेजसो सिट अधिकतम ३१ हजार ५ सय २० (भारु १९ हजार ७ सय) मा बेच्ने गरेको छ । औसतमा १५ हजार भारुसम्म एकतर्फी टिकट बेचिएको देखिन्छ । सीमित मानिसले मात्रै ९/१० हजार भारूमा एकतर्फी टिकट पाउन सकेका छन् ।एयर इन्डियाको भाडा थप चर्को छ । सिट अभावको फाइदा उठाउँदै उसले एकतर्फी टिकट ५० हजार रुपैयाँ (३०/३१ हजार भारु) सम्ममा बेच्ने गरेको छ । आगामी साता दिल्ली–काठमाडौं रुटको भाडा १२ हजार भारुदेखि २२ हजारसम्म देखिन्छ जुन उडानको दिन नजिकिएसँग महँगो हुँदै जान्छ ।सस्तोमा पाइएका बेला पनि काठमाडौं–दिल्ली आउन–जान यात्रुले कम्तीमा ५० हजार रुपैयाँ खर्चिनुपर्ने बाध्यता छ ।
नेपाल एयरलाइन्सका दिल्ली प्रबन्धक पौडेल साताको सातै दिन उडान अनुमति माग गरिएको बताउँछन् । ‘त्यसो भए यात्रुलाई सहज हुनेछ,’ उनले भने । २०२० को डिसेम्बर १७ बाट दुवै मुलुकका ध्वजावाहकले दैनिक एउटा उडान गर्ने सम्झौता भएको थियो । तर, दैनिक उडानका लागि भारत सरकारले कुनै आपत्ति नजाए पनि नेपाल उडान बढाउनेतर्फ चासो देखाएको छैन । यात्रुको चापलाई हेरेर दिल्लीस्थित कार्यालयले नेपाली दूतावासमार्फत उडानको संख्या बढाउन पत्राचार गरिसकेको छ ।कोभिडपूर्व दिल्ली र काठमाडौंको बीचमा दैनिक ११ वटा उडान हुन्थ्यो । इन्डिगोले दैनिक तीनवटा उडान काठमाडौंमा गथ्र्यो । त्यस्तै, नेपाल एयरलाइन्स, एयर इन्डिया र स्पाइस जेटले दैनिक २/२ उडान भर्थे । ड्रक एयर तथा भिस्ताराले १/१ उडान गर्थे ।अहिले दिल्ली र काठमाडौंबीच निश्चित दुई कम्पनीलाई त्यो पनि सातामा तीन दिन १/१ उडानमा सीमित गरिएको हो । सहज रुटमा चर्को भाडा भएपछि धेरै मानिस सीमा पार गरेर गोरखपुर, पटना, दरभंगा र बागडोगरा हुँदै नेपाल जान बाध्य छन् । दिल्लीबाट सीमावारिका ती गन्तव्यसम्म पुग्न बढीमा ५ हजार भारु तिरे पुग्छ ।
महामारीको कारण देखाएर सीमानाकाहरू औपचारिक खुला नगरिएकाले त्यसरी आउजाउ गर्दा झन्झट भने बेहोर्नुपर्छ । दिल्लीको रोहिणीस्थित एनबी टुर्स र ट्राभलका सञ्चालक विष्णु शाही पनि पर्याप्त उडान नभएका कारण उपचार, अध्ययन र अन्य प्रयोजनका लागि दिल्ली आउने नेपालीहरूले सास्ती बेहोर्नुपरेको बताउँछन् । ‘नेपालीहरूले टिकट नपाएर निकै तनाब झेल्नुपरेको छ । सिधा उडानको टिकट नपाएपछि बागडोगरा र गोरखपुर भएर गइरहेका छन्,’ शाहीले भने ।निगमका प्रबन्धक पौडेल पनि उडान संख्या थपिँदा यात्रुहरूलाई सहज हुने बताउँछन् । ‘मानिसको ओहरदोहर रोकिएको छैन, काम परेकाहरू जसरी पनि गन्तव्यमा पुगेकै छन्,’ पौडेलले भने ‘विमानको संख्या थपिदिने हो भने सबैलाई सहज हुने थियो ।’
(कान्तिपुर दैनिक)
