Fast Nepal News

सेयर बजारले बढायो बैंकको नाफा

banner single news

काठमाडौँ — २ भाद्र २०७८

काठमाडौँ , कोभिड महामारीले अर्थतन्त्र धराशायी भइरहेको अवस्थामा पनि गत आर्थिक वर्षमा बैंकहरूको नाफा २० प्रतिशत बढेको छ । यो अवधिमा बैंकको प्राथमिक आयको स्रोत ब्याज आम्दानी धेरै रहेकाले नाफा बढेको भने होइन । सेयर बजारबाट राम्रो कमाइ भएको र अघिल्लो वर्षभन्दा कम मात्र नोक्सानी व्यवस्था गर्नुपरेकाले नाफा वृद्धिदर राम्रो देखिएको हो । कोभिडका कारण धेरै कर्जा असुली नभएपछि बैंकहरूको नोक्सानीबापतको व्यवस्था बढेको थियो । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले कर्जा मात्र नदिएर आफूले पनि लगानी गरेका छन् । बैंकहरूले बैंकिङ समूहबाहेक लघुवित्त, जलविद्युत्, बिमालगायतमा लगानी गर्न पाउँछन् । ती सेयर बिक्रीमार्फत कमाएको आयले बैंकहरूको नाफा वृद्धिमा सहयोग पुगेको हो ।

गत वर्ष बैंकहरूको अन्य सञ्चालन आम्दानी औसतमा ३ सय ९ प्रतिशत बढेको छ । यो शीर्षकमा प्राप्त आम्दानीमध्ये ९५ प्रतिशतभन्दा धेरै सेयर बिक्रीमार्फतको हो । गत आर्थिक वर्षमा बैंकको नाफा वृद्धिमा सेयर बिक्रीबाट प्राप्त आम्दानीको योगदान सबैभन्दा धेरै रहेको बैंकरहरू स्विकार्छन् । सेयर बजार निरन्तर बढिरहेकाले त्यसको सकारात्मक प्रभाव बैंकहरूको नाफामा परेको उनीहरूको भनाइ छ ।गत आर्थिक वर्षमा २७ वाणिज्य बैंकले ६३ अर्ब ३७ करोड रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २० प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६/७७ मा यी बैंकको वार्षिक नाफा ५२ अर्ब ८ करोड रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा त्यति बेला बैंकको नाफा करिब १२ प्रतिशत घटेको थियो । सेयर कारोबारबाट राम्रो आम्दानी भएकाले गत आर्थिक वर्षमा बैंकको मुनाफा राम्रो देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालको भनाइ छ । सेयर बजारबाट प्राप्त आय घटाउँदा बैंकहरूको सञ्चालन आम्दानीको वृद्धि अघिल्लो वर्षको भन्दा खुम्चिएको छ,’ उनले भने, ‘कोभिडका कारण गत वर्ष कर्जा नोक्सानीबापत धेरै रकम प्रोभिजनिङ गर्नुपरेको थियो । यो वर्ष त्यस्तो प्रोभिजनिङ पनि करिब ८ अर्ब रुपैयाँ घटेको छ ।’

समग्रमा सेयर कारोबारबाट राम्रो आम्दानी प्राप्त भएको र कर्जा नोक्सानीबापत कम छुट्याउनुपरेकाले गत आर्थिक वर्षमा बैंकहरूको नाफा सन्तोषजनक देखिएको उनले बताए । यद्यपि बैंकको कोर बिजनेस (ब्याज आय) को आयमा कमी आएको छ भने अन्य आम्दानी बढेको छ । यसकारण अहिले देखिएको बैंकको नाफा दिगो हुन नसक्ने अध्यक्ष दाहालको भनाइ छ । गत वर्षमा मात्र बैंकहरूले सेयर बजारबाट करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो करिब ८ अर्ब रुपैयाँ बढी हो ।अघिल्लो आर्थिक वर्षमा बैंकहरूले सेयर कारोबारबाट करिब ४ अर्ब रुपैयाँ मात्र कमाएका थिए । गत आर्थिक वर्षमा बैंकहरूको सम्पत्तिको प्रतिफल (रिटर्न अन इक्विटी आरओई) करिब १३ प्रतिशत छ । यसले बैंकमा लगानी भएको एक सय रुपैयाँले उक्त आर्थिक वर्षमा करिब १३ रुपैयाँ कमाएको देखाउँछ । अप्ठ्यारो परिस्थितिमा पनि बैंकहरूको यो स्तरको प्रतिफललाई नराम्रो भन्न नमिल्ने बैंकर्स संघका अध्यक्ष दाहालले बताए । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकहरूको आरओई १२.३० प्रतिशत थियो ।

Inside Article Ads

गत आर्थिक वर्षमा करिब ४ अर्ब ५० करोड खुद नाफा कमाएर नबिल सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफासहित ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा छ । राष्ट्रिय वाणिज्य, कृषि विकास, इन्भेस्टमेन्ट, प्राइम, एनआईसी एसिया र नेपाल बैंकले ३ अर्ब रुपैयाँभन्दा धेरै नाफा कमाएका छन् । गत आर्थिक वर्षमा हिमालयन, सिद्धार्थ, एनएमबी, मेगा, नेपाल बंगलादेश, प्रभु र कुमारी बैंकको खुद नाफा २ अर्ब रुपैयाँभन्दा बढी छ । एभरेस्ट, माछापुच्छ्रे, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमान्डु, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकको खुद नाफा १ अर्बभन्दा बढी छ । तर नेपाल एसबीआई, सेञ्चुरी र सिभिल बैंकको नाफा क्रमशः ९६ करोड, ७५ करोड ५५ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पाँच वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ । बाँकी २२ वटाको बढेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको खराब कर्जा ०.३७ प्रतिशत बिन्दुले घटेको छ । २०७७ असारमा वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा १.७३ प्रतिशत थियो । गत असारसम्म आइपुग्दा यो घटेर १.३६ प्रतिशतमा झरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको धेरै कर्जा असुली भएकाले खराब कर्जा घटेको बताइएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको शुद्ध ब्याज आय १ खर्ब ३१ अर्ब रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो आय १ खर्ब २८ अर्ब रुपैयाँ छ । यो करिब साढे २ प्रतिशतको मात्र वृद्धि हो । आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूको कर्जा तथा सापटी करिब २९ प्रतिशतले बढेको छ । यो राष्ट्र बैंकले सो आर्थिक वर्षमा प्रवाह गर्न तय गरेको वार्षिक लक्ष्यभन्दा बढी हो ।

(कान्तिपुर दैनिक)

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.