
काठमाडौँ — २९ श्रावण २०७८
काठमाडौँ, समयमै मनसुन सक्रिय भए पनि गत वर्षको तुलनामा यस वर्ष रोपाइँ घटेको छ । प्रदेश २ को धनुषा र बारामा कम रोपाइँ हुँदा कुल रोपाइँमा असर पुगेको हो । मुलुकभित्र रोपाइँ हुने क्षेत्रफलमध्ये करिब २५ प्रतिशत प्रदेश २ ले ओगट्छ ।यस वर्ष यही प्रदेशकै कारण समग्र रोपाइँ प्रतिशत घटेको कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलले जानकारी दिए । १३ लाख ७१ हजार ७ सय ६ हेक्टरमध्ये प्रदेश २ मा मात्रै ३ लाख ६५ हजार ६ सय १५ हेक्टरमा रोपाइँ हुन्छ ।
वाग्मतीमा पनि रोपाइँ बढेको छ । यहाँ १ लाख १५ हजार २ सय ९५ हेक्टरमा रोपाइँ हुन्छ । २०७७ साउन २८ सम्म ९७.८५ प्रतिशत रोपाइँ भएकोमा २०७८ साउन २८ सम्ममा ९८.०८ प्रतिशत रोपाइँ भएको छ । गण्डकी र लुम्बिनीमा पनि रोपाइँ बढेको विभागको तथ्यांक छ । यसअनुसार गण्डकीमा १ लाख ८ हजार २ सय ७८ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ९८.६४ प्रतिशत रोपाइँ भएको छ । २०७७ साउन २८ सम्ममा यो प्रदेशमा ९७.६८ प्रतिशत मात्रै रोपाइँ भएको थियो । लुम्बिनीमा ३ लाख ३ हजार ५ सय ९३ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ९८.९५ प्रतिशत रोपाइँ भएको छ ।कर्णालीमा भने यस वर्ष शतप्रतिशत रोपाइँ भएको विभागले बताएको छ । २०७७ साउन २८ सम्म कर्णालीमा ९८.५३ प्रतिशत रोपाइँ भएको थियो । कर्णालीमा ३८ हजार ३ सय ८५ हेक्टरमा रोपाइँ हुन्छ । सुदूरपश्चिम प्रदेशमा भने रोपाइँ केही घटेको छ । यहाँ १ लाख ६४ हजार ६ सय ३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये ९९.०६ प्रतिशत रोपाइँ भएको छ ।
नेपालको खेती प्रणाली मनसुनमै आधारित छ । यहाँ २५ देखि ३३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा रहेको जानकारहरू बताउँछन् । जसले गर्दा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । यसले पनि समयमै रोपाइँ हुन सक्दैन । त्यसको असर उत्पादनमा पर्ने उनीहरूको भनाइ छ । सिँचाइसँगै दोस्रो समस्या रासायनिक मल पनि हो । रोपाइँको मुखमा हरेक वर्ष मल अभाव हुन्छ । यसले गर्दा पनि उत्पादन बढेको छैन । चामल आयात गर्नकै लागि एक वर्षमा मात्रै २७ अर्ब ६२ करोड ४१ लख रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ । आयात परिमाण पनि बर्सेनि बढिरहेको भन्सारको तथ्यांक छ ।
२०७६/७७ मा २२ अर्ब २३ करोड रुपैयाँ बराबरको ४१ करोड ९ लाख २३ हजार ७ सय किलो चामल आयात भएकोमा २०७७/७८ मा २७ अर्ब ६२ करोड ४१ लख रुपैयाँको ५४ करोड ६९ लाख २५ हजार २ सय किलो चामल आएको छ । २०७७/७८ को तुलना गर्दा ४ हजार हेक्टरमा रोपाइँ कम देखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । ‘तर यो खासै ठूलो समस्या होइन,’ उनले भने, ‘पहाडी क्षेत्रको रोपाइँ राम्रो छ । बाढी एक–दुई जिल्लामा भए पनि त्यति समस्या भएन । त्यही भएर उत्पादनमा खासै असर नगर्ला भन्ने अनुमान छ ।’
(कान्तिपुर दैनिक)
