Fast Nepal News

६९ वर्षयताकै कम पर्यटक

banner single news

काठमाडौँ — १६ श्रावण  २०७८

काठमाडौँ, विदेशी पर्यटकका लागि नेपाल खुला गरिएको ६९ वर्षयता सन् २०२० मा विदेशी पर्यटकको आगमन ८० प्रतिशत घटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘नेपालको पर्यटन तथ्यांक २०२०’ अनुसार कोभिड संक्रमणका कारण गत वर्ष २ लाख ३० हजार ८५ जना मात्रै विदेशी पर्यटक नेपाल आए । यो सन् २०१९ को तुलनामा ८० दशमलव ७ प्रतिशत कम हो । हवाई मार्ग तथा स्थल मार्ग हुँदै सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी नेपाल आएका थिए । नेपाल विदेशी पर्यटकका लागि सन् १९५१ देखि खुला गरिएको थियो । अघिल्लो वर्षको जसरी यसअघिका कुनै पनि वर्ष पर्यटन आगमनमा गिरावट नआएको मन्त्रालयले जनाएको छ ।

नेपालले विदेशी पर्यटकको रेकर्ड सन् १९६४ देखि राख्न थालेको हो । त्यस वर्ष ९ हजार ५ सय २६ जना विदेशी नेपाल घुम्न आएका थिए । यो त्यसअघिको वर्षको दाँजोमा ३० प्रतिशतले वृद्धि थियो । पछिल्लोपटक नेपालमा सन् २०१५ मा ३२ प्रतिशत पर्यटक आगमन घटेको थियो । ‘सन् २०२० मा नेपाल करिब बन्द थियो, अनलाइन भिसा रोकिएका थिए, त्यस्तो बेला १० दिने क्वारेन्टाइन बस्न इच्छुक हुँदै नेपाल आउने विदेशीको संख्या २ लाख पुग्नुले नेपालमा पर्यटकको सम्भावनाको संकेत गर्छ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले भने । 
Inside Article Ads

सन् २०२० मा नेपालले विदेशी पर्यटक आगमनबाट २५ अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको थियो  यो अघिल्लो वर्षको दाँजोमा ७० प्रतिशत कम हो । सन् २०२० मा सर्वाधिक पर्यटक आगमन भएका मुलुकमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र संयुक्त राज्य अमेरिका प्रमुख थिए । पर्यटक ल्याउने प्रमुख ५ वायुसेवामा नेपाल वायुसेवा निगम, कतार एयरवेज, हिमालय एयरलायन्स, फलाई दुबई र एयर अरेबिया थिए । गत वर्ष १० हजार २ सय ५६ वटा अन्तर्राष्ट्रिय उडान (आउने/जाने) भए । अघिल्लो वर्षको तुलनामा यो ६८ प्रतिशत कम हो ।

(कान्तिपुर दैनिक)

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.